काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा निर्जीवन बीमा कम्पनीहरूले करिब १० अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार भदौ मसान्तसम्म १४ निर्जीवन बीमा कम्पनीले चार लाख ८२ हजार ६२७ वटा बीमालेख बिक्री गर्दै नौ अर्ब ८३ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
बीमाशुल्क संकलनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा रहेको छ । कम्पनीले दुई महिनामा एक अर्ब नौ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । शिखर इन्स्योरेन्स एक अर्ब चार करोड रुपैयाँसहित दोस्रो स्थानमा रहँदा एनएलजी इन्स्योरेन्सले ९७ करोड १७ लाख रुपैयाँ संकलन गरेर तेस्रो स्थान हासिल गरेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स ९६ करोड १७ लाख रुपैयाँ बीमाशुल्क संकलनसहित चौथो स्थानमा रहेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ८९ करोड ५२ लाख रुपैयाँ संकलन गरेको छ । त्यसैगरी, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ८२ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
ओरिएन्टल इन्स्योरेन्सले ७४ करोड ६ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले ७० करोड ६९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । युनाइटेड अजोड इन्स्योरेन्सले ६१ करोड ७२ लाख रुपैयाँ संकलन गर्दा नेपाल इन्स्योरेन्सको बीमाशुल्क ४३ करोड २७ लाख रुपैयाँ पुगेको छ ।
सानिमा जिआईसी इन्स्योरेन्सले ४२ करोड २६ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ४१ करोड १५ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ३६ करोड ३० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । प्रभु इन्स्योरेन्सले भने ३४ करोड ४९ लाख रुपैयाँ संकलन गरेको छ ।
तथ्यांकअनुसार पहिलो दुई महिनामा सगरमाथा लुम्बिनी र शिखर इन्स्योरेन्सले मात्रै एक अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । एनएलजी र हिमालयन एभरेष्ट इन्स्योरेन्स पनि एक अर्ब रुपैयाँको नजिक पुगेका छन् । यसले निर्जीवन बीमा बजारमा कम्पनीहरूबीच व्यवसाय विस्तार र बीमाशुल्क संकलनमा प्रतिस्पर्धा रहेको देखाउँछ ।
निर्जीवन बीमाअन्तर्गत मोटर, सम्पत्ति, कृषि, इन्जिनियरिङलगायत विभिन्न जोखिमको बीमा हुँदै आएको छ । बीमाशुल्क संकलन र बीमालेख बिक्रीको तथ्यांकले कम्पनीहरूको व्यावसायिक गतिविधि तथा बीमा बजारको अवस्थाबारे संकेत गर्छ ।




