काठमाडौं । बैंक तथा वित्तीय संस्थाले शाखा समायोजन वा एकीकरण गरेको बहानामा कर्मचारीलाई सेवाबाट हटाउन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै शाखा समायोजनका कारण कर्मचारी कटौती गर्न नपाइने व्यवस्था गरेको हो ।
केन्द्रीय बैंकले शाखा समायोजन वा एकीकरण हुने वा भइसकेको अवस्थामा सम्बन्धित शाखामा कार्यरत कर्मचारीलाई सेवाबाट नहटाउन निर्देशन दिएको छ । त्यस्ता कर्मचारीलाई नजिकको शाखामा वा उनीहरूको प्राथमिकता र सहमतिका आधारमा अन्य शाखामा सरुवा गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।
राष्ट्र बैंकको संशोधित निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले शाखा समायोजन गर्नुअघि कम्तीमा ९० दिनको सूचना सार्वजनिक गर्नुपर्नेछ । यस्तो सूचना राष्ट्रियस्तरको दैनिक पत्रिका, सम्बन्धित संस्थाको वेबसाइट र समायोजन हुन लागेको शाखाको सूचनापाटीमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
शाखा समायोजन हुने अवस्थामा सम्बन्धित शाखाका ग्राहकले कर्जा चुक्ता गर्न चाहेमा वा अन्य सेवा बन्द गर्न चाहेमा कुनै पनि प्रकारको शुल्क नलिई कर्जा चुक्ता वा सेवा स्थगित गर्न सक्ने व्यवस्था मिलाउनुपर्नेछ ।
त्यस्तै, शाखा समायोजन गर्दा सम्बन्धित क्षेत्रको वित्तीय पहुँचमा प्रतिकूल असर नपर्ने सुनिश्चित गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । शाखा बन्द वा गाभिने प्रक्रियाले स्थानीय ग्राहकको बैंकिङ सेवामा अवरोध पुग्न नहुने व्यवस्था गरिएको हो ।
बैंक तथा वित्तीय संस्थाले शाखा समायोजन गरेको तीन कार्यदिनभित्र राष्ट्र बैंकको रिपोर्टिङ पोर्टलमा विवरण अद्यावधिक गर्नुपर्नेछ । साथै, तोकिएबमोजिमका विवरण बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा पेस गर्नुपर्नेछ ।
संशोधित व्यवस्थाले शाखा समायोजनका क्रममा कर्मचारीको रोजगारी संरक्षण, ग्राहकको हित र वित्तीय सेवामा पहुँचलाई प्राथमिकता दिएको छ ।




