एनआईसी एशिया बैंकले गर्यो विभिन्न छ सामुदायिक विद्यालयलाई सहयोग प्रदान

काठमाडौं । एनआईसी एशिया बैंकले ललितपुर, कालिकोट, डोटी, अछाम र गोरखाका ६ वटा सामुदायिक विद्यालयलाई विभिन्न शैक्षिक तथा प्रविधिमूलक सामग्री सहयोग गरेको छ ।

बैंकले विद्यार्थीको पठनपाठनलाई सहज बनाउने र गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले पानी शुद्धिकरण प्लान्ट, विद्यालय पोशाक, झोला, प्रिन्टर, ल्यापटप, डेस्कटप कम्प्युटर, प्रोजेक्टर तथा अन्य शैक्षिक सामग्री उपलब्ध गराएको हो । बैंकले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गरेको जनाएको छ ।

बैंकले ललितपुरको गोदावरी नगरपालिका–१, गोदामचौरस्थित श्री दमाइटार आधारभूत विद्यालयलाई बैंकले पानी शुद्धिकरण प्लान्ट र विद्यालय पोशाक हस्तान्तरण गरेको छ । सो विद्यालयमा ९९ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । बैंकका काठमाडौं साउथ सर्कल हेड उज्ज्वल रिमाल, चापागाउँ शाखा प्रमुख तुलसी ढुंगाना र सीएसआर तथा फाइनान्सियल इन्क्लुजन इन्चार्ज ठाकुर श्रेष्ठले विद्यालयका प्रधानाध्यापक अमृतनाथ गौतमलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

यसैगरी, कालिकोटको नरहरीनाथ गाउँपालिका–६ स्थित श्री नन्दादेवी माध्यमिक विद्यालयलाई विद्यालय पोशाक, झोला र अन्य शैक्षिक सामग्री प्रदान गरिएको छ । ४७२ भन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापालाई बैंकका कालिकोट शाखा प्रमुख प्रकाश शाहीले सामग्री हस्तान्तरण गरेका थिए ।

त्यस्तै, डोटीको शिखर नगरपालिका–५, तिजालीस्थित श्री राधाकृष्ण माध्यमिक विद्यालयलाई झोला, एक थान प्रोजेक्टर र शैक्षिक सामग्री उपलब्ध गराइएको छ । ३०४ भन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयका उपप्रधानाध्यापक सुरेन्द्र भट्टलाई बैंकका दिपायल शाखा प्रमुख सुधिर भण्डारीले सामग्री हस्तान्तरण गरेका हुन् ।

अछामको बान्नीगढी जयगढस्थित श्री नन्दा माध्यमिक विद्यालय र श्री राष्ट्रभाषा माध्यमिक विद्यालयलाई पनि बैंकले प्रविधिमूलक सामग्री सहयोग गरेको छ । बैंकले प्रत्येक विद्यालयलाई दुई थान ल्यापटप, चार थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर उपलब्ध गराएको हो ।

बैंकका साँफेबगर शाखा प्रमुख सुरेन्द्रबहादुर थापाले श्री नन्दा माध्यमिक विद्यालयका उपप्रधानाध्यापक दयानन्द पन्त र श्री राष्ट्रभाषा माध्यमिक विद्यालयका प्रधानाध्यापक भिमबहादुर सुनारलाई ती सामग्री हस्तान्तरण गरेका थिए ।

गोरखा नगरपालिका–३, नरेश्वरस्थित श्री विन्ध्यवासिनी माध्यमिक विद्यालयलाई झोला र शैक्षिक सामग्री प्रदान गरिएको छ । १८५ भन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयका प्रधानाध्यापक गणेशराज सापकोटालाई बैंकका पोखरा सर्कल हेड श्वेता शेरचन तुलाचन र गोरखा शाखा प्रमुख दीपेन्द्र रेग्मीले संयुक्त रुपमा सामग्री हस्तान्तरण गरेका हुन् ।

बैंकले विद्यालयलाई उपलब्ध गराइएको सहयोगले विद्यार्थीको पठनपाठनमा सहजता ल्याउनुका साथै गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *