काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले १ खर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। आर्थिक वर्षको पहिलो ३४औँ दिनसम्म सरकारको ढुकुटीमा १ खर्ब रुपैयाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार कुल राजस्वमध्ये भन्सार महसुलबाट १४ दशमलव ५५ प्रतिशत, अन्तःशुल्कबाट १५ दशमलव ४६ प्रतिशत र आयकरबाट २२ दशमलव १७ प्रतिशत संकलन भएको छ। यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) बाट ३४ दशमलव ०४ प्रतिशत र अन्य शीर्षकबाट १३ दशमलव ७८ प्रतिशत राजस्व संकलन भएको छ।
सरकारले आर्थिक वर्ष २०८३÷८४ मा १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त लक्ष्यलाई ‘मिसन १६ खर्ब’ नाम दिएका छन्। राजस्व चुहावट नियन्त्रण गर्दै ‘मिसन मोड’मा उच्च राजस्व लक्ष्य हासिल गर्ने उद्देश्यसहित अर्थ मन्त्रालय मातहतका निकायलाई काम गर्न अर्थमन्त्री डा.वाग्लेले निर्देशन दिँदै आएका छन्।
गत आर्थिक वर्षमा सरकारले १२ खर्ब ४९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो। चालु आर्थिक वर्षको राजस्व लक्ष्य गत आर्थिक वर्षको कुल संकलनभन्दा ३ खर्ब ३१ अर्ब रुपैयाँ बढी हो।




