विश्वासको मतपछि मात्रै सुदूरपश्चिम सरकारलाई पूर्णता दिने तयारी

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । विश्वासको मत प्रयोजनका लागि भदौ २ गते प्रदेशसभा बैठक बोलाउने तयारी भइरहेको छ ।

सत्तारूढ नेपाली कम्युनिस्ट पार्टीभित्र मन्त्री छनोटमा सहमति जुट्न नसकेपछि मुख्यमन्त्री भट्टले विश्वासको मत लिएर मात्रै बाँकी मन्त्री नियुक्त गर्ने रणनीति बनाएका हुन् । सरकार गठनका क्रममा पार्टीका साविक तीन घटकलाई एक–एक मन्त्री दिने आन्तरिक सहमति भए पनि आकांक्षीको व्यवस्थापनमा समस्या देखिएपछि मन्त्रिपरिषद् विस्तार रोकिएको हो ।

मुख्यमन्त्री भट्टले शपथ लिएकै दिन सत्ता साझेदार नेकपा एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्रीलाई समेत जिम्मेवारी दिइएको थियो । अब नेपाली कम्युनिस्ट पार्टीको भागमा परेका तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्न बाँकी छ ।

पार्टीभित्र साविक नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबाट एक–एक जना मन्त्री बनाउने सहमति भए पनि व्यक्ति र मन्त्रालयको टुंगो लाग्न सकेको छैन । विशेषगरी भौतिक पूर्वाधार विकास मन्त्रालयमा सबै समूहको दाबी रहेपछि भागबन्डा थप पेचिलो बनेको नेताहरू बताउँछन् ।

मन्त्रीका आकांक्षी धेरै भएपछि समूहगत व्यवस्थापन गर्नुपर्ने र त्यसका लागि केन्द्रबाटै निर्णय हुनुपर्ने भएकाले तत्काल नाम टुंग्याउन नसकिएको हो ।

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला सहइन्चार्ज लक्ष्मीराम आचार्यले केन्द्रले तत्काल मन्त्री चयनको प्रक्रिया अघि नबढाउन भनेको बताए ।

‘माथिबाट नै मन्त्री चयनको काम अहिले रोक्नुस् भनेको छ,’ उनले भने, ‘पहिले विश्वासको मत लिनुस्, त्यसपछि मन्त्री टुंग्याउनु होला भन्ने सुझाव मुख्यमन्त्रीलाई दिएका छौं ।’

को–को छन् मन्त्रीको दौडमा ?

स्रोतका अनुसार नेपाली कम्युनिस्ट पार्टीअन्तर्गत साविक नेकपा माओवादीबाट मानबहादुर धामी, शिवसिंह ओली र ओमविक्रम भाट मन्त्रीका आकांक्षी छन् । त्यस्तै साविक नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरी र खुसीराम चौधरीको नाम चर्चामा छ ।

साविक नेकपा एकीकृत समाजवादीबाट प्रकाश रावल र नरेश शाही मन्त्रीको दौडमा छन् । रावल र शाही दुवैले यसअघि पनि प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीबाट दुई जना राज्यमन्त्री बन्ने लगभग निश्चित भएको स्रोतले जनाएको छ । साविक नेकपा माओवादीबाट जानकी कुँवर र साविक नागरिक उन्मुक्ति पार्टीबाट इन्दिरा गिरीलाई राज्यमन्त्री बनाउने तयारी छ ।

कुँवर, गिरी र मन्त्रीका आकांक्षी शिवसिंह ओली अहिलेसम्म प्रदेश सरकारमा मन्त्री बनेका छैनन् । नेपाली कम्युनिस्ट पार्टीका अन्य प्रदेशसभा सदस्यले भने यसअघि नै मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

नेकपा एमालेको समर्थनमा नेपाली कम्युनिस्ट पार्टीका खगराज भट्ट साउन २९ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । अब उनले विश्वासको मत लिएपछि मात्रै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *