निगमले शनिबार दिनभर काठमाडौँमा बेच्यो ६८०२ सिलिन्डर, यी ७ स्थानबाट हुँदैछ वितरण

काठमाडौंँ । नेपाल आयल निगमले शनिबार काठमाडौंका विभिन्न पाँच बिक्री केन्द्रहरूबाट कुल ६ हजार ८ सय २ थान खाना पकाउने एलपी ग्यास सिलिन्डर प्रत्यक्ष रूपमा उपभोक्तालाई बिक्री गरेको बताएको छ ।

निगमले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै टेकु परिसर, यातायात कार्यालय चावहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर बसुन्धरा र पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट उक्त परिमाणमा ग्यास वितरण गरिएको जानकारी दिएको हो ।

ग्यास वितरणका क्रममा शनिबार केही ब्रान्डका सिलिन्डरहरू अपुग भएका कारण लाइनमा बसेर पनि रित्तो हात फर्किनुपरेका उपभोक्ताहरूको लागि निगमले विशेष व्यवस्था गरेको छ ।

समयभित्रै बिक्री केन्द्रमा उपस्थित भएर पनि ग्यास नपाएका उपभोक्ताहरूलाई कुपन वितरण गरिएको र उनीहरूलाई भोलि आइतबार पहिलो प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने निगमका प्रवक्ताले जानकारी दिए।

यसैबिच, निगमले भोलि साउन ३१ गते आइतबार पनि काठमाडौँ उपत्यकाका सातवटा विभिन्न स्थानबाट ग्यास वितरण गर्ने कार्यलाई निरन्तरता दिने भएको छ । शनिबार ग्यास नपाएर कुपन लिएका र अन्य अति आवश्यक भएका उपभोक्ताहरूले भोलि तोकिएका स्थानहरूबाट ग्यास खरिद गर्न सक्नेछन् ।

यधपि, सरकारले झन्डै ७ हजार सिलिन्डर ग्यास बेचेको दावी गरिरहँदा अधिकांश उपभोक्ताले भने ग्यास नपाएर रित्तो हात फर्किनु परेको गुनासो गरेका छन् ।

निगमका अनुसार नियमित बिक्रेताबाट ग्यास प्राप्त गर्न नसकी अति आवश्यक भएका व्यक्तिहरूले आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित तोकिएको स्थानमा उपस्थित भई ग्यास खरिद गर्न सक्नेछन् ।

ग्यास वितरण हुने स्थान र उपलब्ध ब्रान्डहरू :

१. निगमको टेकु परिसर : नेपाल, एचपि, एभरेष्टरसुगम, श्रीराम र सगर
२. पशु सेवा शाखा, चपली, बुढानीलकण्ठ : नेपाल, एचपि र भानु
३. राधास्वामी, कीर्तिपुर परिसर : नेपाल, एचपी, एभरेष्टरसुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया
४. नयाँ बजार जुडो हल परिसर : नेपाल, एचपि र ओम
५. तारकेश्वर नगरपालिकाको परिसर : नेपाल र एचपी
६. चन्द्रागिरी नगरपालिका कार्यालय : लोकप्रिय, नेपाल, एचपि र श्रीमाया
७. राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी : नेपाल, एचपि, सूर्य, सगर, एभरेष्टरसुगम र एसटीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *