नाइमा एक्स्पोमा १ लाख ८० हजारभन्दा बढी दर्शक, अटो बजारमा माग बढ्ने संकेत

काठमाडौं । अटोमोबाइल बजार सुस्त रहेको चर्चा भइरहेका बेला नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा देखिएको उल्लेख्य उपभोक्ता सहभागिताले बजारमा माग विस्तारको सम्भावना देखाएको छ ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ६ दिने एक्स्पोमा १ लाख ८० हजारभन्दा बढीले अवलोकन गरेका छन् । आयोजकले डेढ लाख दर्शक आउने अपेक्षा गरे पनि त्योभन्दा ३० हजारभन्दा बढी दर्शक एक्स्पोमा पुगेका हुन् ।

एक्स्पोमा दर्शकको उपस्थितिसँगै सवारीसाधन खरिदका लागि भएको इन्क्वायरी र बुकिङसमेत अपेक्षाभन्दा राम्रो भएको आयोजकले जनाएको छ । अटो शो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले एक्स्पोमा सोचेभन्दा धेरै दर्शक आएको र त्यसैअनुसार इन्क्वायरी तथा बुकिङ पनि राम्रो भएको बताए ।

‘हामीले अपेक्षा गरेभन्दा धेरै नै बढी मानिसले मेला अवलोकन गर्नुभएको छ,’ उनले भने, ‘सोचेभन्दा धेरै अवलोकनकर्ता, सोचेभन्दा राम्रो इन्क्वायरी र सोचेभन्दा राम्रो बुकिङ भएको छ ।’

एक्स्पोको अन्तिम दिन मात्रै ३० हजारभन्दा बढीले अवलोकन गरेका थिए । पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार र पाँचौं दिन ४२ हजारभन्दा बढी दर्शक सहभागी भएका थिए ।

शारडाका अनुसार एक्स्पोमा देखिएको उपभोक्ता चासोले अटोमोबाइल व्यवसायीलाई बजारको माग र ग्राहकको रुचि बुझ्न महत्वपूर्ण आधार दिएको छ ।

५५ भन्दा बढी ब्रान्ड, ५३ नयाँ उत्पादन

एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड सहभागी भएका थिए भने ५३ वटा नयाँ उत्पादन सार्वजनिक गरिएको थियो । नयाँ मोडल र प्रविधि एउटै थलोमा प्रदर्शन भएपछि उपभोक्ताले विभिन्न ब्रान्डका सवारीसाधन तुलना गर्ने अवसर पाएका थिए ।

विशेषगरी विद्युतीय सवारीसाधन, नयाँ प्रविधि, चार्जिङ पूर्वाधार तथा मोबिलिटी समाधानमा केन्द्रित प्रदर्शनीले नेपाली अटो बजार नयाँ प्रविधितर्फ तीव्र रूपमा अघि बढिरहेको संकेत गरेको व्यवसायीहरूको बुझाइ छ ।

नाइमा अध्यक्ष रितु सिंह वैद्यले ठूलो संख्यामा उपभोक्ताको सहभागिता र नयाँ उत्पादन सार्वजनिक हुनु एक्स्पोको प्रमुख उपलब्धि भएको बताइन् । उनका अनुसार १ लाख ८० हजारभन्दा बढी मानिस एक्स्पोमा आउनु नाइमा जस्तो युवा संस्थाका लागि उत्साह र प्रोत्साहनको विषय हो ।

उपभोक्ता चासोले बढायो बजारको आशा

अटोमोबाइल बजारको कारोबार बिक्री, आयात, वित्तीय सुविधा र उपभोक्ताको क्रयशक्तिसँग जोडिएको हुन्छ । यद्यपि एक्स्पोमा देखिएको भीड र सवारीसाधन खरिदप्रतिको चासोले बजारमा माग कमजोर नरहेको संकेत गरेको व्यवसायीहरू बताउँछन् ।

नाइमाका बोर्ड सदस्य क्याबिनेट श्रेष्ठले ठूलो संख्यामा मानिसको सहभागिता अटो उद्योगका लागि सुखद संकेत भएको बताए । नाइमाको स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटीका अध्यक्ष आकाश गोल्छाले एक्स्पोको समग्र सफलतालाई ‘सुपरहिट’ भएको टिप्पणी गरे ।

प्रदर्शनीसँगै बजार अध्ययन

एक्स्पोमा बिक्री र बुकिङसँगै उपभोक्ताको रुचि, मूल्य संवेदनशीलता, नयाँ प्रविधिप्रतिको आकर्षण र ब्रान्ड छनोटको प्रवृत्तिबारे व्यवसायीले प्रत्यक्ष जानकारी लिने अवसरसमेत पाएका छन् ।

नाइमा कार्यकारी निर्देशक राजकुमार दुलालले एक्स्पोलाई सवारीसाधन प्रदर्शन गर्ने थलो मात्र नभई ज्ञान, सहकार्य र मागकेन्द्रित व्यवस्थापनको प्लेटफर्मका रूपमा विकास गरिएको बताए ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पोले अटोमोबाइल व्यवसायलाई नयाँ प्रविधि र बदलिँदो उपभोक्ता मागसँग जोड्ने प्रयास गरेको उनको भनाइ छ ।

एक्स्पोमा देखिएको उपभोक्ता सहभागिता, नयाँ उत्पादनप्रतिको आकर्षण र बुकिङले आगामी दिनमा अटोमोबाइल बजारमा प्रतिस्पर्धा थप बढ्ने तथा नयाँ लगानीको सम्भावना विस्तार हुने व्यवसायीहरूको अपेक्षा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *