लक्ष्मी सनराइज बैंकका प्रबन्धकलाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं । ऋणीको सम्पति धितो बन्धक राखी प्रस्तावित कर्जा स्वीकृत गरेको भए पनि रकम भने उपलब्ध नगराएको प्रकरणमा लक्ष्मी सनराइज बैंकका तत्कालीन नायब प्रबन्धक केदार सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

पर्सा जिल्ला अदालतले तत्कालीन सनराइज बैंकका सीईओ तथा हाल प्रभु बैंकका सीईओ सुमन शर्मा, सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र कर्जा प्रशासनका नायब प्रबन्धक रवीन्द्र केसीलाई पक्राउ गर्न अनुमति दिएको हो।

अञ्जली इन्टरनेसनलले दायर गरेको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालय, पर्साले चारै जनाविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दा दायर गरेको हो।

अभियोगपत्रअनुसार तत्कालीन सनराइज बैंकले २०८० वैशाख ५ गते अञ्जली इन्टरनेसनलका लागि ३ करोड ८९ लाख ९४ हजार रुपैयाँ थप कर्जा स्वीकृत गरेको थियो। कर्जाको सुरक्षणका लागि ८९ लाख रुपैयाँ बराबरको जग्गा धितोबन्धक गरिए पनि स्वीकृत रकम उपलब्ध नगराएको जाहेरीकर्ताको दाबी छ।

मुद्दा दर्ता भएपछि लक्ष्मी सनराइज बैंकका केदार सिंह स्वतः निलम्बनमा परेका छन्। धितो लिएर कर्जा उपलब्ध नगराएको विषयमा बैंकका उच्च अधिकारी नै फौजदारी अभियोगमा तानिएपछि प्रकरण थप गम्भीर बनेको छ। यद्यपि मुद्दाको अन्तिम टुंगो  अदालतको न्यायिक प्रक्रियाबाट मात्र तय हुने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *