एलपी ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्ताको घरमा कुनै पनि हालतमा एलपी ग्यासको अभाव हुन नदिन कडा निर्देशन दिएपछि नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ । टिमले आजदेखि नै आफ्नो कार्य औपचारिक रूपमा सुरु गरेको निगमले जनाएको छ ।

ग्यास आपूर्तिमा देखिने समस्या तत्काल समाधान गर्न उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधिहरू सम्मिलित संयन्त्र बनाइएको मन्त्रालयले जनाएको छ ।

क्विक रेस्पोन्स टिममा उद्योग मन्त्रालयका तर्फबाट मङ्गल विष्ट, नेपाल आयल निगमबाट इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी, ग्यास उद्योगबाट आयुस नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन् ।

टिमको मुख्य उद्देश्य देशका जुनसुकै स्थानमा एलपीजी ग्यासको अभाव वा वितरणसम्बन्धी समस्या देखिए तत्काल समन्वय गरी समाधान गर्नु रहेको छ । निगमको हटलाइनमा प्राप्त हुने गुनासोका आधारमा सम्बन्धित उद्योग, डिलर तथा व्यवसायीसँग समन्वय गरेर उपभोक्तासम्म ग्यास आपूर्ति सहज बनाइने जनाइएको छ ।

पछिल्लो समय विभिन्न स्थानबाट ग्यास नपाएको गुनासो बढेपछि समस्या तत्काल सम्बोधन गर्न यो संयन्त्र गठन गरिएको निगमले जनाएको छ । टिमले कार्यालय समयभित्र प्राप्त हुने गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्दै सकेसम्म तत्काल समाधान गर्ने गरी काम गर्नेछ ।

उपभोक्ताले ग्यास आपूर्ति सम्बन्धी कुनै समस्या वा गुनासो भए कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *