काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीको घटनालगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक बिहीबार बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा बस्ने तय गरिएको छ। बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई पनि आमन्त्रण गरिएको उनले बताए।
आचार्यका अनुसार बैठकका लागि सम्बन्धित दलहरूलाई औपचारिक पत्राचार गरिनुका साथै सभापति लामिछानेले दलका नेताहरूलाई व्यक्तिगत रूपमा फोन गरेर पनि सहभागी हुन आग्रह गरेका छन्।
बैठकमा सुनसरीको घटनापछि विकसित परिस्थितिसहित समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल हुने रास्वपाले जनाएको छ।




