काठमाडौँ। प्रभु बैंक लिमिटेडका प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रमेश कुमार श्रेष्ठलाई धनगढी सरुवा गरिएको छ।
बैंकको सिनियर व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहेका सिबिओ श्रेष्ठको जिम्मेवारी एकाएक घटाई सिबीसिओ बनाएर अपायकमा सरुवा गरेपछि बैंकभित्र र सरोकारवालामाझ समेत नेतृत्वमाथि विभिन्न आशंका एवम् संसय पैदा भएको छ।
सिबीओ श्रेष्ठले बैंकको कर्जा असुली, विशेषगरी ठूला कर्जाहरूको रिकभरीलाई प्राथमिकतामा राखी काम गर्दै आएका थिए।
बिशेष गरी उनले बैंकका ठुला तर खराब सूचीमा परेका ऋणीहरुलाई टार्गेट बनाएर कर्जा अशुली प्रक्रियालाई तिब्रता दिँदै आएका थिए।
सोही अन्तर्गतका ज्योति समूह र राजेन्द्र शाक्य समूहसँग सम्बन्धित कर्जा असुलीलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेका बेला अचानक गरिएको उनको सरुवाले नेतृत्वको निर्णयमाथी आसंका उब्जाएको छ भने यसको औचित्यमाथि प्रश्न उठाएको छ ।
सिनियर व्यवस्थापक अर्थात् एजीएम श्रेष्ठलाई मात्र लक्षित गरि गरिएको सरुवालाई असामान्य रुपमा हेरिएको छ। बैंक भित्रैका कर्मचारी तथा सरोकारवालाले पनि यो सरुवा नियमित प्रशासनिक निर्णय नभई केहि गुप्त योजना र बिशेष कारणले भएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।
बैंक स्रोतका अनुसार सिबीओ श्रेष्ठमाथि ज्योति समूहसँग सम्बन्धित झन्डै २ अर्ब रुपैयाँ मूल्यांकन गरिएको सम्पत्ति मात्रै १.४० अर्बमा बिक्री गर्न दबाब दिँइदै आएको थियो।
व्यक्तिगत स्वार्थमा काम गर्दा बैँकलाई अर्बौंको नोक्सानी हुने भएकाले उक्त दवावलाई अस्वीकार गरेका श्रेष्ठलाई सिईओ सुमन शर्माको ठाडो निर्देशनमा सिबीओको जिम्मेवारी नै खोसेर अन्यत्र सरुवा गरिएको चर्चा बैंकभित्र छ।
कर्मचारीहरूका अनुसार बैंकका नयाँ प्रमुख कार्यकारी अधिकृत ( सिइओ) शर्माको नेतृत्वमा बैंकले अपेक्षित नयाँ व्यवसाय विस्तार, ठूला कर्जा व्यवस्थापन तथा प्रभावकारी रिकभरीमा खासै उपलब्धि हासिल गर्न सकेको छैन।
सोही कारण पनि श्रेष्ठ पुराना ऋण उठाएरै भएपनि बैंकको साख जोगाउन चाहन्थे। तर, व्यवस्थापकीय नेतृत्वमा रहेका सिईओ शर्मा नै स्वार्थ समूहको आडमा संस्थाको अहित हुने किसिमका काम गर्न लागेपछि उनीहरुबीच टकराव सुरु भएको स्रोत बताउँछ ।
बैंकका कर्मचारीहरूकै अनुसार सिइओ शर्मा बैंकलाई संस्थागत रूपमा अझ सुदृढ बनाउनेभन्दा व्यवस्थापन शैली ‘डिभाइड एन्ड रुल’ (Divide and Rule) तर्फ उन्मुख देखिएका छन्।
जसले कर्मचारी- कर्मचारी बीचको एकता, मनोबल र समन्वयमा नकारात्मक असर पारेको छ। उनको यो स्वार्थप्रेरित कार्यले दीर्घकालमा बैंकको समग्र कार्यसम्पादनमा समेत प्रतिकूल प्रभाव पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
स्वार्थ समूहलाई पोस्न नपाएको झोकमा गरिएको इमानदार कर्मचारीको यस किसिमको प्रतिसोधपूर्ण ट्राम्सफरले कर्मचारीको मनोबल, संस्थागत सुशासन, पारदर्शिता तथा निष्पक्ष व्यवस्थापलाई नै गिज्याएको छ।
यस सम्बन्धमा बुझ्न हामीले सिबीओ रमेश श्रेष्ठलाई पटकपटक टेलीफोन सम्पर्क गर्यौँ। तर उनी सम्पर्कमा आएनन् भने सिईओ शर्माले पनि जवाफ दिन चाहेनन्।




