काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई अन्तर्राष्ट्रिय डिजिटल सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नेपालस्थित प्रविधि कम्पनी निम्बजसँग सहकार्य गरेको छ।
यस सहकार्यअन्तर्गत निम्बजले उपलब्ध गराउँदै आएको अन्तर्राष्ट्रिय डेटा सेवा तथा अन्तर्राष्ट्रिय सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा कुमारी बैंकको मोबाइल बैंकिङ एपमा समावेश गरिएको बैंकले जनाएको छ।
अब कुमारी बैंकका ग्राहकले मोबाइल बैंकिङ एपबाटै विदेशमा प्रयोग हुने अन्तर्राष्ट्रिय डेटा प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिन सक्नेछन्। बैंकका अनुसार विदेश भ्रमण गर्ने, उच्च शिक्षाका लागि विदेश जाने, वैदेशिक रोजगारीमा रहेका तथा नियमित रूपमा विदेश आवतजावत गर्ने नेपालीका लागि यो सेवा उपयोगी हुनेछ।
विदेश यात्राका क्रममा इन्टरनेट पहुँच र आवश्यक कागजातको व्यवस्थापनलाई सहज बनाउन यो सेवा ल्याइएको बैंकले जनाएको छ। अन्तर्राष्ट्रिय डेटा सेवामार्फत विदेश पुगेपछि स्थानीय सिमकार्ड खरिद वा परिवर्तन गर्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ। त्यसैगरी, अन्तर्राष्ट्रिय सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवाले आवेदन प्रक्रियालाई सरल, छिटो र व्यवस्थित बनाउने विश्वास गरिएको छ।
यस सेवाको अर्को विशेषता भनेको ग्राहकले अन्तर्राष्ट्रिय डेटा सेवा र अन्तर्राष्ट्रिय सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवाको शुल्क कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत नेपाली रुपैयाँमै भुक्तानी गर्न सक्ने सुविधा हो। यसले विदेशी मुद्रामा भुक्तानी गर्ने वैकल्पिक माध्यम खोज्नुपर्ने आवश्यकता घटाउनुका साथै सम्पूर्ण प्रक्रिया थप सहज, सुरक्षित र ग्राहकमैत्री बन्ने बैंकको विश्वास छ।
कुमारी बैंकले प्रविधिमा आधारित सेवा विस्तारलाई निरन्तर प्राथमिकतामा राख्दै आएको जनाएको छ। हाल बैंकले देशभर २८५ शाखा, ४१ वटा विस्तार काउन्टर, ३०३ एटीएम तथा ४० शाखारहित बैंकिङ केन्द्रमार्फत लाखौं ग्राहकलाई सेवा दिँदै आएको छ।
बैंकका अनुसार निम्बजसँगको यो सहकार्यले ग्रामीण, अर्धशहरी तथा शहरी क्षेत्रका ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरका डिजिटल सेवामा सहज पहुँच दिलाउने, डिजिटल समावेशीकरणलाई थप मजबुत बनाउने तथा विदेश यात्रा, अध्ययन, रोजगारी र व्यवसायका लागि आवश्यक सेवाहरू एउटै डिजिटल माध्यमबाट उपलब्ध गराएर ग्राहक अनुभवलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।




