काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी १४ वटा मुद्दामा दोषी ठहर भएपछि फरार ४७ वर्षीय राजु मिजारलाई पक्राउ गरेको छ।
सीआईबी टोलीले बूढानीलकण्ठ नगरपालिका–५ बस्ने मिजारलाई काठमाडौं महानगरपालि–४ धुम्बाराही क्षेत्रबाट पक्राउ गरेको हो।
सीआईबीका सह–प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार मिजारविरुद्ध काठमाडौं जिल्ला अदालतमा १२ वटा बैंकिङ कसुर र २ वटा चेक अनादरसम्बन्धी मुद्दा दायर भएका थिए।
ती मुद्दामा अदालतले उनलाई दोषी ठहर गर्दै कुल २ करोड ५८ लाख ६२ हजार ७१६ रुपैयाँ बिगो, ४३ लाख २३ हजार ५३४ रुपैयाँ ८० पैसा जरिवाना तथा १ लाख ७२ हजार ९४१ रुपैयाँ ३९ पैसा क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो।
अदालतले उनलाई ९० दिन कैद सजायसमेत तोकेको थियो। फैसलापछि फरार रहेका मिजारलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।






