बजेटमाथि प्रतिनिधिसभामा छलफल सुरु, पक्ष–विपक्षका सांसदबीच फरक धारणा

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु भएको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन्।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले बजेटमाथिको सैद्धान्तिक छलफलका लागि चार घण्टाको समय निर्धारण गरिएको जानकारी दिएका थिए।

मन्त्रालयगत कार्यक्रम तथा योजनामाथि भने विनियोजन विधेयकको छलफलका क्रममा विस्तृत बहस हुने उनले बताए।

छलफलका क्रममा सत्ता र प्रतिपक्षका सांसदहरूले बजेटबारे फरक–फरक धारणा राखेका छन्।

नेकपा एमालेका सांसद पुष्पराज कँडेलले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गरेको भन्दै अर्थमन्त्रीलाई धन्यवाद दिएका छन्। उनले केही पुराना कार्यक्रमलाई निरन्तरता दिइएकोमा पनि सकारात्मक टिप्पणी गरे।

तर बजेट संविधानको भावना अनुरूप नभएको उनको आरोप थियो। संविधानले परिकल्पना गरेको मिश्रित अर्थतन्त्र, लोककल्याणकारी राज्य र समाजवादउन्मुख व्यवस्थाबाट बजेट विचलित भएको भन्दै उनले प्रगतिशील कर प्रणालीको मर्मसमेत कमजोर बनाइएको दाबी गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले भने बजेटलाई आर्थिक सुधारतर्फको साहसिक प्रयासका रूपमा व्याख्या गरिन्। उनले दशकौँदेखि कायम रहेको परम्परागत आर्थिक सोच र यथास्थितिवाद तोड्ने गरी बजेट आएको बताइन्।

अधिकारीले बजेटले रेमिट्यान्स, आयात र उपभोगमा आधारित अर्थतन्त्रलाई उत्पादन, रोजगारी र आर्थिक वृद्धितर्फ उन्मुख गराउने विश्वास व्यक्त गरिन्।

निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित गर्न खोजिएको र लगानीकर्ताको मनोबल बढाउने प्रयास बजेटमा देखिएको उनको भनाइ थियो।

प्रतिनिधिसभामा जारी सामान्य छलफलपछि उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *