प्रतिनिधिसभा बैठक बस्दै, अवरोध नभए आगामी आवको बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको भनेर दिएको विवादित अभिव्यक्तिलाई लिएर जेठ १७ देखि अवरुद्ध हुँदै आएको संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।

प्रधानमन्त्रीले संसद् बैठकमा उपस्थित भएर विवादित वक्तव्यको माफी माग्नुपर्ने, संसदको रेकर्डबाट हटाउनुपर्ने मागसहित प्रतिपक्षी दलले निरन्तर संसद् अवरोध गरिरहेका बेला आज पनि बैठक बस्न लागेको हो।

बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ। बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिने कार्यसूची छ।

अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने, प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार थपबारे जानकारी गराउने सम्भावित कार्यसूची छ।

बैठकमा अर्थमन्त्रीले विनियोजन विधेयक प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्नेलगायत सम्भावित कार्यसूची छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *