नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने एडिबीको प्रक्षेपण

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले चालू आर्थिक वर्ष ०८२/८३ मा नेपालको आर्थिक वृद्धि सुस्त रहने प्रक्षेपण गरेको छ। एडिबीले आफ्नो प्रमुख प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक २०२६ मार्फत नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सीमित रहने जनाएको हो। यो गत आर्थिक वर्ष ०८१/८२ को ४.६ प्रतिशतभन्दा उल्लेख्य रूपमा कम हो।

एडिबीका नेपालका लागि राष्ट्रिय निर्देशक आर्नो कोश्वाका अनुसार राजनीतिक अनिश्चितता, नागरिक अशान्ति र मध्यपूर्वमा जारी द्वन्द्वका कारण अर्थतन्त्रमा दबाब परेको छ। उनले राजनीतिक स्थायित्व फर्किएमा अर्थतन्त्रमा सुधार र लगानीकर्ताको आत्मविश्वास बढ्ने अपेक्षा व्यक्त गरे।

एडिबीका अनुसार विद्यमान चुनौतीहरू आन्तरिक माग, जलविद्युत् निर्यात र पर्यटन क्षेत्र सुदृढ हुँदै आर्थिक वर्ष ०८३/८४ मा आर्थिक वृद्धिदर ५ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ।

मुद्रास्फीतिको दर भने चालू वर्षमा करिब ३.७ प्रतिशत रहने र आगामी वर्ष ०८३/८४ मा बढेर ४.५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। त्यस्तै, चालू खाता बचत चालू वर्षमा जिडिपीको ७.२ प्रतिशत रहने अनुमान गरिएको छ। यो अघिल्लो वर्षको ६.७ प्रतिशतभन्दा केही उच्च हो। तर, रेमिट्यान्समा सम्भावित कमी, इन्धनको मूल्यवृद्धि र पर्यटन क्षेत्रमा असरका कारण आगामी वर्ष ०८३/८४ मा चालू खाता बचत घटेर ५.३ प्रतिशतमा सीमित हुने एडिबीले जनाएको छ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *