उदयपुर ।जेठको पहिलो सातादेखि बढेको अत्यधिक गर्मी र वर्षा अभावका कारण उदयपुरका विभिन्न क्षेत्रमा धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित बनेका छन्।
असार–साउनमा रोपाइँका लागि तयार पारिएका ब्याडमा चिरा पर्न थालेको र बिउ उम्रन समस्या देखिएको किसानहरूको गुनासो छ।
जिल्लाको त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाका अधिकांश किसानले वैशाख अन्तिम सातादेखि जेठको पहिलो सातासम्म धानको ब्याड राखेका थिए।
तर लामो समयसम्म पानी नपर्दा ब्याड सुक्दै गएको उनीहरू बताउँछन्।
त्रियुगा–१ जोगीदहका किसान मोहनदेव चौधरीले खडेरीका कारण ब्याडमा राखिएको धानको बिउ उम्रन नसक्ने अवस्था सिर्जना भएको बताए।
उनका अनुसार समयमै वर्षा नभए रोपाइँका लागि आवश्यक बिरुवा अभाव हुन सक्छ।
त्रियुगा–१३ पोर्ताहका किसान प्रेमप्रसाद दाहालले जेठ १ गते राखिएको ब्याडमा समेत चिरा पर्न थालेको बताए।
“ब्याड सुक्दै जाँदा बिउ उम्रिने सम्भावना घटेको छ,” उनले भने, “यस्तै अवस्था रहे असार अन्तिमतिर हुने रोपाइँ प्रभावित हुन सक्छ।”
त्रियुगा–३ भुल्केका किसान दयानाथ भट्टराईले अत्यधिक गर्मी र सुक्खापनका कारण यस वर्ष धानको बिरुवा उत्पादनमै समस्या देखिन थालेको बताए। समयमै पानी नपरे रोपाइँ प्रभावित हुने उनको भनाइ छ।
भुल्के क्षेत्रमा मात्रै डेढ सयभन्दा बढी धानका ब्याड रहेको र अधिकांशमा सुक्खाको असर देखिन थालेको किसान कृष्णप्रसाद फुँयालले बताए।
उनका अनुसार ब्याडमा चिरा पर्न थालेपछि बिउ उम्रने प्रक्रियामा असर पुगेको छ।
चौदण्डीगढी–९ ज्यमिरेका कृषक धनपति पौडेलका अनुसार उदयपुरमा सामान्यतया असारको तेस्रो सातादेखि साउनको तेस्रो सातासम्म धान रोपाइँ गरिन्छ।
त्यसका लागि किसानले वैशाख अन्तिम सातादेखि जेठको पहिलो साताभित्र ब्याड तयार गर्ने गरेका छन्।
किसानहरूले समयमै वर्षा नहुँदा धान उत्पादनमा असर पर्ने र रोपाइँको चक्र नै प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।







