एनबि बैंकमा चरम विबाद : भीआरएस ल्याउने भएपछि कर्मचारी आन्दोलित

नेपाल बंगलादेश बैंकको उच्च व्यवस्थापन र कर्मचारीबीचको छलफल निष्कर्षविना नै टुंगिएको छ। बैंकका उच्च व्यवस्थापन र संचालकले उचित विकल्प दिन नसकेपछि छलफल निष्कर्षविना नै टुंगिएको हो।

बैंकका बहालवाला निमित्त प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे, तत्कालिन सीईओ ज्ञानेन्द्र ढुंगाना र बैंकका संचालक इन्द्र बहादुर थापा तथा बैंकका कर्मचारीबीचको छलफल बीना निष्कर्ष सकिएको छ ।

बैंकका संचालक थापाले सहायक तथा त्यसभन्दा तलको पदमा रहेको कर्मचारीको घटुवा नहुने प्रतिबद्दता जनाएका थिए । त्यस्तै बैंकका तत्कालिन सीईओ ढुंगानाले कर्मचारीहरुको पद एक तह वा दुई तहले घटेपनि खाईपाई आएको सुविधा तथा तलबमा कटौती नहुने र नबिलले प्राप्ति गरेको ६ महिनाभित्र काम हेरेर स्तरोन्नति हुने आश्वासन दिएका थिए ।

वेविनार मार्फत भएको छलफलमा तत्कालिन सीईओ ढुंगानाले २७ औं नम्बरमा रहेको नेपाल बंगलादेश बैंक र एक नम्बरको बैंक नबिल बैंकबीच प्राप्ति सम्झौता हुन लागेकाले दुई तहसम्मको पद घटुवा सामान्य भएको धारणा व्यक्त गरे ।

तर कर्मचारी युनियनका नेताहरुले भने बैंक २७ औं नम्बरमा आइपुग्नुको कारण पनि स्वयम् ढुंगाना नै भएको भन्दै ढुंगानाको धारणाबिरुद्द चर्को आलोचना गरेका थिए ।

संचालक थापा र तत्कालिन सीईओ ढुङ्गानाको प्रस्तावले कर्मचारीहरु भने विश्वस्त हुन नसकेका हुन् । प्राप्ति अगाडि दुई तहसम्म घटाउने र ६ महिनाको काम हेरेर फेरि स्तरोन्नति गर्ने प्रस्ताव कर्मचारीहरुलाई भूलाउने खेल मात्र भएको भन्दै एनबि बैंकका कर्मचारीहरुले आइतबारदेखि आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

आइतबारदेखि आन्दोलनमा उत्रिने तयारीमा रहँदै गर्दा नेपाल बंगलादेश बैंकका कर्मचारीहरुलाई आजदेखि नै भीआरएसको प्रस्ताव गरिएको छ । अधिकांश कर्मचारीलाई भीआरएस लिन बाध्य पारिएको स्रोतको दाबी छ ।

नेपाल बंगलादेश बैंकका करिब एक हजार कर्मचारी रहेका छन् । जसमध्ये अधिकांश कर्मचारीहरु महिला कर्मचारी रहेका छन् भने अधिकांश महिला कर्मचारीहरुको कार्यअवधि अझैं १० देखि १५ बर्ष बाँकी रहेको अवस्था छ ।

अहिलेकै अवस्थामा बढीमा १५ महिना बराबरको आधारभूत तलब दिएर कर्मचारी पठाउने प्रस्तावपनि कर्मचारीहरुका लागि घातक हुने भएकाले धेरै कर्मचारी यो विकल्पमा नजाने भएका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *