भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब बराबर क्षति, पुनर्निर्माणमा २ खर्ब १८ अर्ब लाग्ने

काठमाडौं । गत १० भदौमा रसुवा–भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ ।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) को प्रारम्भिक प्रतिवेदनले ऊर्जा क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो ।

प्रतिवेदनअनुसार बाढीले समग्र अर्थतन्त्रमा ४ खर्ब ७२ अर्ब ६६ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ । त्यसमध्ये ऊर्जा क्षेत्रको पुनरुत्थान तथा पुनर्निर्माणका लागि मात्रै २ खर्ब १८ अर्ब ५८ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।

बाढीका कारण सार्वजनिक र निजी क्षेत्रमा ८९ अर्ब २६ करोड बराबर हानि तथा ४३ अर्ब ५६ करोड बराबर नोक्सानी भएको छ । जसमा सार्वजनिक क्षेत्रतर्फ ८२ अर्ब ७९ करोड र ५० अर्ब ३ करोड बराबर हानि–नोक्सानी भएको आयोगको मूल्यांकनले देखाएको हो ।

बाढीका कारण रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । जसमा ७ निजी क्षेत्र र ७ नेपाल विद्युत् प्राधिकरण तथा त्यसका सहायक कम्पनी छन् । त्यसबाहेक ६ सबस्टेसन, प्रसारण लाइन, वितरण लाइन तथा पोलमा क्षति पुगेको छ ।

बाढीका कारण १ सय ११ मेगावाट रसुवागढी, १ सय २० मेगावाट रसुवा भोटेकोशी, २ सय १६ मेगावाट माथिल्लो त्रिशूली–१, ६० मेगावाट माथिल्लो त्रिशूली–३ ए, २० मेगावाट लाङटाङ खोला, १४.१ मेगावाट देवीघाट, २४ मेगावाट त्रिशूली, २२ मेगावाट चिलिमे, १ सय मेगावाट सुपर त्रिशूली, ५ मेगावाट मैलुङ खोला, १५.६२५ मेगावाट मध्य त्रिशूली गंगा, ३७ मेगावाट माथिल्लो त्रिशूली–३ बी, १४.३ मेगावाट माथिल्लो मैलुङ तथा २४.३६ मेगावाटका ५ सौर्य विद्युत् आयोजनामा क्षति पुगेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *