गृहमन्त्री सुदन गुरुङको मंगलबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा भएको निरीक्षण कार्यक्रममा उनले संगठनलाई बलियो बनाउन सुविधा बढाउन जरुरी रहेको औँल्याएका हुन् । ‘उनीहरूको घरपरिवार तथा बालबच्चाको शिक्षा र स्वास्थ्य नेपाल सरकारले निःशुल्क गरिदिन सक्यो भने जागिर छोडी विदेश जाने क्रम रोकिन्छ भन्ने मेरो विश्वास छ,’ उनले भने, ‘पेन्सन पकाएर घर जाने समयसम्म तल्लो दर्जाका कर्मचारीहरू पनि जुनियर अधिकृतसम्म हुने व्यवस्था ल्याउन सकियो भने कार्यक्षेत्रमा खटिने कर्मचारीहरूको मनोबल उच्च रहन्छ । जागिर होइन सेवा हो भन्ने भावनाले काम गर्छ ।’
कार्यक्रममा आइजिपी अर्यालले अधिकारविनाको खटाइले कार्यक्षेत्रमा कुनै पनि हालतमा परिणाम दिन नसक्ने कुरा बताउँदै सशस्त्र प्रहरी बल नेपालको कार्यक्षमता अभिवृद्धि गर्न पनि जोड दिए । समयानुकूल सुदृढीकरणका लागि २०५८ को विशेष नियमावलीहरूलाई परिमार्जन गरी सक्षम, प्रभावकारी, व्यवसायी बनाउने तथा सीमाको सुरक्षा, सीमा अपराध नियन्त्रण, विपत् व्यवस्थापन, आन्तरिक सुरक्षालगायतका विषयमा स्पष्ट कानुनी व्यवस्थाको प्रस्तावसमेत पेस गरिएको उनको भनाइ छ ।
महानिरीक्षक अर्यालले नागरिकहरूमा आइपरेका विभिन्न चुनौतीहरूको अवस्थामा समेत सशस्त्र प्रहरी साथमा छ भन्ने भावनाले काम गरिरहेको बताउँदै कार्यक्षेत्रमा खटिँदा स्पष्ट नीति र निर्देशनको व्यवस्था नभएको हुँदा परिणाममुखी कार्य गर्न समस्या परेको औँल्याएका थिए।
मन्त्री गुरुङले सुविधा बढाउन र संगठनलाई बलियो बनाउन आफूले सक्दो प्रयास गर्ने बताएका छन्।







