इरान युद्ध निर्णायक मोडमा : ट्रम्पले राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार बुधबार राति ९ बजे (बिहीबार बिहान) राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन्।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत इरानसँगको ३३ दिन लामो सैन्य संघर्ष ‘अपरेसन एपिक फ्युरी’ पछि हुने यो सम्बोधन अत्यन्तै महत्त्वपूर्ण हुने जानकारी दिएकी छन्। उनका अनुसार यसले युद्धको भविष्य तय गर्नेछ।

यसअघि ट्रम्पले मंगलबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै इरानसँगको युद्ध आगामी दुई देखि तीन हप्ताभित्र समाप्त हुन सक्ने आशा व्यक्त गरेका थिए। उनले इरानको सैन्य क्षमता कमजोर पार्ने मुख्य उद्देश्य पूरा भइसकेको दाबी गर्दै अब धेरै समय त्यहाँ नबस्ने र केही हप्तामै युद्ध टुंगिने बताएका हुन्। उनले इरानसँग एउटा नयाँ सम्झौता हुन लागेको संकेत समेत दिएका छन्।

तेलको विश्वकै महत्त्वपूर्ण मार्ग ‘स्ट्रेट अफ होर्मज’ खुला राख्ने जिम्मेवारी अब अमेरिकाको मात्र नहुने ट्रम्पले स्पष्ट पारेका छन्। उनले अन्य देशहरूलाई आफ्नो तेलको सुरक्षा र व्यवस्थापन आफैँ गर्न चेतावनी दिँदै अमेरिका अब यसमा संलग्न नहुने बताएका हुन्।

ट्रम्पले इरानलाई उर्जा पूर्वाधारमा हमला नगर्ने भनेर दिएको १० दिने समय सीमा अप्रिल ६ मा समाप्त हुँदै छ। यदि सो समयभित्र सम्झौता नभए र जलमार्ग नखुलेमा अमेरिकाले इरानका पावर प्लान्ट, तेलका कुवा र खार्ग टापुमा सिधै आक्रमण गर्ने कडा चेतावनी दिएका छन्। खार्ग टापु इरानको प्रमुख तेल निर्यात केन्द्र हो, जसलाई हालसम्म अमेरिकाले निशाना बनाएको छैन।

अमेरिकी रक्षा सचिव पिट हेग्सेथले आगामी केही दिन निर्णायक हुने बताएका छन्। उनले इरानमा सत्ता परिवर्तन भइसकेको दाबी गर्दै अमेरिका थप कडा सैन्य कारबाही र कूटनीतिक सम्झौता दुवैका लागि तयार रहेको जानकारी दिए। पेन्टागन स्रोतका अनुसार इरानको युरेनियम भण्डार कब्जा गर्न अमेरिकी नेभी सिल्स र आर्मी रेन्जर्स जस्ता विशेष दस्ताहरूलाई उच्च सतर्कतामा राखिएको छ।

विशेषगरी इस्फाहान सहरको भूमिगत सुरुङमा रहेको ४०० केजीभन्दा बढी संवर्धित युरेनियम जफत गर्ने योजनामा अमेरिकाले विचार गरिरहेको छ, जसलाई अघिल्लो वर्षका आक्रमणहरूले भग्नावशेषमा परिणत गरिदिएका थिए।

यस युद्धको प्रत्यक्ष असर अमेरिकी अर्थतन्त्रमा समेत गहिरोसँग देखिएको छ। अमेरिकामा इन्धनको मूल्य विगत तीन वर्षयताकै उच्च विन्दुमा पुगेर प्रति ग्यालन ४ डलर नाघेको छ। महँगी बढ्दै गएपछि ट्रम्प प्रशासनमाथि युद्ध छिटो टुङ्ग्याउन आन्तरिक दबाब बढेको छ।

अर्कोतर्फ, इरानको रिभोलुस्नरी गार्ड्सले गुगल, एप्पल र टेस्ला जस्ता १८ अमेरिकी प्रविधि कम्पनीहरूलाई निशाना बनाउने धम्की दिएको छ। हाल मध्यपूर्वमा सयौँको संख्यामा अमेरिकी विशेष फौज तैनाथ छन्। विश्वले ट्रम्पको यस सम्बोधनलाई निकै चासोका साथ हेरिरहेको छ। एजेन्सी

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *