काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले पार्टी संसदीय दलको नेतामा दाबी गरेका छन् । पार्टी कार्यालय च्यासलमा आज बसेको दलको बैठकमा उनले दलको नेतामा दाबी गरेका हुन् ।
पार्टीको विधि पद्धति तथा वरिष्ठताक्रमको विषयमा आफू अवगत रहेको र त्यसलाई सम्मान गरेको भन्दै उनले अहिलेको आवश्यकता युवा नेतृत्व भएको बताएको बैठकमा सहभागी एक नेताले बताए ।
सुहाङले बैठकमा भने- ‘पार्टीको विधि पद्धति र अग्रजहरूको भूमिकालाई सम्मान गर्दै म जिम्मेवारी निभाउन तयार छु । देशमा उत्पन्न वर्तमान परिस्थिति हामीले नजरअन्दाज गर्न पक्कै हुँदैन । सदन र सदन बाहिरको अवस्था हामी बुझ्न सक्छौँ ‘
उनले आफ्नो भनाइ अग्रजहरूले गर्न नसक्ने भन्ने नरहेको प्रष्ट पारेका छन् ।
‘ उहाँले आफू नै अहिलेको आवश्यकता, युवाको ऊर्जा सँगसँगै अग्रजको अनुभव र आशीर्वाद हो भन्नुभएको छ छलफल हुँदैछ’, सुहाङको भनाइ उद्धृत गर्दै ती नेताले भने ।
पार्टीले नै अवलम्बन गरेको प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र लोकतान्त्रिक अभ्यासलाई पनि अपनाउने कुरा उनले नेतृत्वलाई स्मरण गराएका छन् ।







