काठमाडौँ। न्यायाधीशको आचारसंहिता विपरीत रिटको सुनवाई गरेको भन्दै सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलविरुद्ध न्यायपरिषद्मा उजुरी पेश भएको छ।
रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्लामा दर्ता भएको सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा संशोधन गर्ने महान्याधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश पोखरेलले सुनवाई गरेपछि परिषदमा उजुरी परेको हो।
आइतबार आफ्ना कानुन व्यवसायीले लामिछानेको वकिलको रुपमा पहिले काम गरेका न्यायाधीश पोखरेललाई सुनुवाइबाट अलग हुन गरेको आग्रह अस्वीकार गरेको भन्दै रिट निवेदन युवराज पौडेलले परिषद्मा उजुरी दिएका हुन्।
रिटको सुनुवाइका लागि आइतबार पोखरेल र अर्का न्यायाधीश सारङ्ग सुवेदीको इजलासमा पेशी तोकिएको थियो। पक्षको आग्रह विपरीत सुनुवाई अघि बढेको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। सोमबार पनि सुनवाईले निरन्तरता पाउने भएपछि पौडेल उजुरी बोकेर परिषद पुगेका हुन्।
उनले उजुरी दर्ता गर्ने बारे परिषदका सचिव जितेन्द्रबाबू थपलिया ले प्रधानन्यायाधीश समेत रहेका अध्यक्ष प्रकाशमान सिंह राउतसँग परामर्श गरेर दर्ता गर्ने जानकारी दिएको बताए।
न्यायाधीश पोखरेलले न्यायाधीशको आचारसंहिता, २०७४ को दफा ४ को उप दफा ४.५ को (ग)ले विपरीत काम गरेको उजुरीमा उल्लेख छ।
जसमा विवादित विषयमा न्यायाधीशले पहिले कानुन व्यवसायीको हैसियतले काम गरेको वा साक्षीको रुपमा रहेको भएमा मुद्दाको सुनुवाइ गर्न नहुने उल्लेख छ।
न्यायाधीश हुनुअघि पोखरेलले लामिछानेविरुद्ध लागेको आत्महत्या दुरुत्सान, नागरिकता, पासपोर्ट जस्ता मुद्दामा वकिलको रुपमा काम गरेका थिए।







