कालोसूचीमा रहेका तामाङ रास्वपा उदयपुर-२ बाट सांसद निर्वाचित

विराटनगर । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उदयपुर क्षेत्र नम्बर–२ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको तथ्य सार्वजनिक भएको छ।

निर्वाचनमा तामाङले १४ हजार ८ सय २ मत प्राप्त गर्दै विजयी भएका थिए। तर कर्जा सूचना केन्द्रको विवरणअनुसार तामाङ र उनी सञ्चालक रहेको मकालु कान्जिरोवा अटो लिंक प्रालि का नाममा जारी भएका चेकहरू पटक–पटक बाउन्स भएपछि कम्पनी र उनी कालोसूचीमा सूचीकृत भएका हुन्।

कर्जा सूचना केन्द्रको अभिलेखमा उक्त कम्पनी कालोसूचीको १०१,५१४ नम्बरमा दर्ता रहेको देखिन्छ। कम्पनीका सञ्चालकमा सूर्यबहादुर तामाङसँगै लीला राईको नाम उल्लेख गरिएको छ।
विवरणअनुसार २०७९ फागुन १५ गते माछापुच्छ्रे बैंकको खाताबाट काटिएको १ करोड ५५ लाख रुपैयाँ बराबरको चेक नसाटिएपछि तामाङ र कम्पनी पहिलोपटक कालोसूचीमा परेका थिए। त्यसपछि २०८० भदौ महिनामा २२ लाख ५० हजार र १३ लाख ५५ हजार रुपैयाँका चेकहरू पनि बाउन्स भएका थिए।

पछिल्लो पटक २०८० माघ २५ गते २ लाख ५५ हजार रुपैयाँको चेक नसाटिएपछि कम्पनी र सञ्चालक तामाङ पुनः कालोसूचीमा परेको विवरणमा उल्लेख छ।

नवनिर्वाचित सांसद तामाङले आफू उक्त कम्पनीको सञ्चालक रहेको स्वीकार गर्दै कालोसूचीमा परेको विषयमा आफूलाई जानकारी नभएको बताएका छन्। उनका अनुसार गाडी कारोबार गर्ने कम्पनी भए पनि कालोसूचीमा परेको विषय आफूलाई थाहा नभएको दाबी गरेका छन्।

जिल्ला निर्वाचन कार्यालयले तामाङले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्नका लागि भन्दै सिफारिस लगेको पुष्टि गरेको छ। तर, खाता खुलेको वा नखुलेको विषयमा आफूहरूलाई जानकारी नभएको जनाएको छ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालले निर्वाचन परिणाम घोषणा भइसकेपछि आयोगले थप कारबाही गर्न नसक्ने बताए। उनले असन्तुष्ट पक्ष अदालत गइ न्यान खोज्न सक्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *