अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

म्याग्दी — रघुगङ्गा गाउँपालिका–७ मा निर्माण भएको २२.५ मेगावाट क्षमताको अपर ठूलोखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ।

ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाको संरचना, उपकरण जडान र आन्तरिक परीक्षण पूरा भएपछि परीक्षणका लागि विद्युत् केन्द्रीय प्रणालीमा पठाइएको हो।

आयोजना प्रमुख शिवसागर यादवका अनुसार फागुन २९ गतेदेखि परीक्षण उत्पादन सुरु गरिएको थियो।

नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा पाँच दिनसम्म गरिएको परीक्षण सफल भएपछि केन्द्रीय लाइनमा जोडिएको हो।

परीक्षण सफल भएपछि करिब १५ दिनभित्र व्यावसायिक उत्पादन सुरु गरिने बताइएको छ।

हाल सुक्खायाममा आयोजनाबाट १३.८६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।

सुगुरथलामा बाँध र डिसेन्डर निर्माण गरिएको छ भने करिब २.९ किलोमिटर मुख्य पाइपलाइन र ३०० मिटर सर्च साफ्ट पाइपलाइन जडान गरिएको छ।

फेदीमा दुई युनिट (टर्बाइन) सहितको विद्युत्गृह र स्विचयार्ड निर्माण गरिएको छ।

रन अफ द रिभर प्रकृतिको आयोजनाबाट उत्पादन भएको विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत तिल्केनीचौर हुँदै दाना–खुर्कोट २२० केभी लाइनबाट केन्द्रीय प्रणालीमा जोडिएको हो।

विसं २०८० मा निर्माण सुरु भएको आयोजनाको लागत पाँच अर्ब १४ करोड रुपैयाँ अनुमान गरिएको छ।

आयोजनामा सिटिजन्स, माछापुच्छ्रे र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् भने बाँकी लगानी प्रवर्द्धक र सर्वसाधारणबाट सेयरमार्फत जुटाइने जनाइएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *