काठमाडौं। मध्यपूर्वमा जारी लडाइँका कारण विश्व आपूर्ति शृंखलामा अवरोध जारी छ। इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेको १२ दिन पुगिसकेको छ।
इजरायल र अमेरिकी आक्रमणको प्रत्याक्रमणमा उत्रिएको इरानले खाडी मुलुकमा रहेका अमेरिकी सैनिक बेसक्याम्प विश्व आपूर्तिको प्रमुख समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’मा बुधबार शृंखलाबद्ध आक्रमण गरेको छ।
उक्त आक्रमणमा भारतको गुजराततर्फ इन्धन बोकेर आउँदै गरेको जहाज पनि परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्
यसले भारतको ऊर्जा आपूर्ति र समुद्री व्यापारिक सुरक्षामा चिन्ता बढाएको छ। अझ आयातमा भारत निर्भर नेपाल, भुटानलगायतका मुलुकका लागि इन्धन संकट सामना गर्नुपर्ने देखिँदै छ।
थाइल्यान्ड स्वामित्वको ‘मयूरी नारी’ नामक जहाज ओमानको समुद्री तटबाट करिब ११ नटिकल माइल उत्तरमा आक्रमणमा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। यो जहाज भारतको गुजरात राज्यको बन्दरगाहतर्फ आउँदै थियो।
अन्य देशले जस्तै भारतले पनि आफ्नो आवश्यकताको ठूलो हिस्सा कच्चा तेल र प्राकृतिक ग्यास साउदी अरब, इराक, कुवेत र संयुक्त अरब इमिरेट्सबाट यही स्ट्रेट अफ होर्मुजको बाटो हुँदै आयात गर्दछ।
इरानले इन्धन आपूर्तिको बाटो बन्द गर्ने चेतावनी दिएपछि होर्मुज स्ट्रेटमा पनि आक्रमण तीव्र बनेसँगै विश्वभर तेल र ग्यास आपूर्ति प्रभावित भएको छ।







