निर्वाचन आयोगले भन्यो -‘अल्छी नमानी मतदान केन्द्र जाऔँ’

काठमाडाैँ । निर्वाचन आयोग ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र निर्भय भई मतदान गर्न मतदातालाई आह्वान गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी तथा आयुक्तहरू डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा ले छुट्टाछुट्टै सन्देश जारी गर्दै शतप्रतिशत मतदान सुनिश्चित गर्न आग्रह गरेका हुन्।

कार्यवाहक प्रमुख भण्डारीले यस निर्वाचनले संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। गत भदौमा उत्पन्न परिस्थितिपछि हुन लागेको आकस्मिक निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग तयारी अवस्थामा रहेको उनले बताए।

आयुक्त तुलाधरले योग्य प्रतिनिधि चयनका लागि मतदान अपरिहार्य भएको उल्लेख गर्दै मतदातालाई तोकिएको समयमा मतदान केन्द्रमा पुग्न अनुरोध गरिन्। निर्वाचनलाई विश्वसनीय र मितव्ययी बनाउन राजनीतिक दल, सुरक्षाकर्मी र कर्मचारी सबैको समान भूमिका रहने उनले स्पष्ट पारिन्।

आयुक्त जबराले मतदातालाई आलस्य नगरी मताधिकार प्रयोग गर्न आग्रह गर्दै निर्वाचन अवधिमा शान्ति र सद्भाव कायम राख्न अपिल गरे। योग्य उम्मेदवारको चयनमार्फत देशलाई सही दिशा दिन मतदान नै प्रमुख माध्यम भएको उनको भनाइ छ।

आयोगले निर्वाचन व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाउँदै सुरक्षा व्यवस्था मजबुत पारिएको जानकारी दिएको छ। कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित नभई विवेकपूर्ण रूपमा मतदान गर्न आयोगले पुनः सबै मतदातालाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *