नेपालमा रहेका २७ वटा वाणिज्य बैंकहरुमा बैंक अफ काठमाण्डू सबै भन्दा खराब बैंक भएको सेवाग्राहीहरुले बताएका छन् । यो बैंकको अव्यवस्थित व्यवस्थापनबाट आफुहरु हैरान भएको भन्दै सामाजिक सञ्जालमा पनि आलोचना हुन थालेको छ । विशेषगरी मोबाइल बैंकिङ प्रयोग गर्दा दोहोरो रकम काट्ने गरेको सेवाग्रहीहरुको भनाई छ ।
मोबाइल बैंकिङ प्रयोग गर्दा दोहोरो पैसा काटिने समस्यालाई औँल्याउदै अभिनेत्री लक्ष्मी बर्देवाले आफ्नो फेसबुक मार्फत बैंक अफ काठमाण्डूको मोबाइल बैंकिङ प्रति असन्तुष्टि व्यक्त गरेकी छन् । पाँच दिन अगाडि अप्रिल २४ मा बर्देवाले बैंक अफ काडमाण्डूको मोबाइल बैंकिङ मार्फत नक्सालको भाटभाटेनीमा भुक्तानी गरेकी थिइन् ।
तर प्राविधिक समस्याका कारण उनले भुक्तानी गर्नुपर्ने रकम दुई पटक काटियो । यसपछि उनले भाटभटेनीमै समस्या राख्दा सुनुवाई नभएको र बैंकले पनि आइतबार मात्र खातामा पैसा फिर्ता आउने बताएको उनले आफ्नो फेसबुक पोस्टमा उल्लेख गरेकी छन् ।
यसअगाडि पनि यसैगरी दोहोरो रकम काटिने समस्या भोगेको कुरा पनि उनले खुलाएकी छन् । यो विषयमा टेकपानाले बैंक अफ काठमाण्डूका प्रतिनिधिसँग कुरा गर्न खोज्दा उनले तत्काल प्रतिकृया दिन चाहेनन् ।
यद्यपि यस्तो समस्या भोग्ने उनी एक्लो मात्र होइनन् । अनलाइन भुक्तानीको सम्बन्धमा यसरी दोहोरो रकम काटिएर आफ्नो पैसा फिर्ता पाउनको लागि दुख भोग्नु परेका धेरै घटनाहरू छन् ।
दोहोरो रकम काटिनुमा धेरै कारणहरू हुनसक्ने फोनपेका सीईओ दिवस सापकोटा बताउँछन् । ‘मोबाइल बैंकिङ अथवा डिजिटल वालेट मार्फत विशेषगरी क्यूआर कोड प्रयोग गरेर अनलाइन भुक्तानी गर्दा कहिले काहीँ विभिन्न कारणले समस्या आउन सक्छ । जस्तो कि नेटवर्कको समस्या, बैंकको सिस्टमको समस्या, अथवा भुक्तानी प्राप्त गर्ने बैंकको समस्या,’ उनी भन्छन् ।
यी लगायत विभिन्न कारणले ग्राहकले दोहोरो भुक्तानी गर्नुपरेको उनी बताउँछन् । साथै पहिलो भुक्तानीमा ‘इरर’ अथवा ‘पेमेन्ट अनसक्सेफुल’ भनेर देखायो भनेर पनि दोस्रो पटक पेमेन्ट गर्दा दोहोरो रकम काटिने समस्या हुने उनले बताए । यस्तोमा केही समय पर्खेर पैसा गएको हो कि होइन भनी निश्चित हुनु पर्ने उनको सुझाव छ ।