राजेन्द्र लिङ्देनसँग पराजित भएपछि विछिप्त बनेका कमल थापाले राप्रपा नेपाल व्युताए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दै सूर्य चिन्हमा चुनाव लड्ने सहमति गरेका उनलाई दशा लागेको छ । ओलीले थापाको हरिबिजोग बनाइदिएका छन् ।
स्थानीय चुनावलाई राप्रपा नेपालले नेकपा एमालेसँग तालमेलको सहमति गरे पनि कुनै पनि पालिकामा प्रमुख वा उपप्रमुखको उम्मेवारी दिन पाएन । वैशाख ११ र १२ मा स्थानीय चुनावका लागि उम्मेदवारी दर्ता भए पनि कमल थापा नेतृत्वमा रहेको राप्रपा नेपालबाट कुनै पनि पालिका प्रमुख वा उपप्रमुखमा उम्मेदवारी परेको छैन । चैत ३० गते एमालेसँग पाँच बुँदे सहमति गर्दै राप्रपा नेपालले सूर्य चिन्हबाट आफ्ना उम्मेदवारले उम्मेदवारी दिने सहमति गरेको थियो ।
उनीहरूबीच ‘देशभरि तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने’ सहमति भएको थियो। तर राप्रपाले एउटै पालिका प्रमुख वा उपप्रमुखमा आफ्ना उम्मेदवार उठाउन पाएन ।
राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले पार्टी परित्याग गर्दै राप्रपा नेपाल ब्युँताएका थिए । उनले छोटो समयमा सबै जिल्लामा पार्टी समितिहरू बनेको तथा संगठन विस्तार भएको दाबी गर्दै आएका थिए ।
राप्रपा नेपालका स्थानीय तह निर्वाचन परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले पार्टीबाट कहाँ, को उम्मेदवार भए भन्ने यकिन जानकारी प्राप्त भइनसकेको बताए । उनकाअनुसार पालिका प्रमुख र उपप्रमुखमा भने पार्टीबाट उम्मेदवारी परेको छैन ।
‘यतिउति उम्मेदवारी पर्यो भन्ने अहिलेसम्म थाहा भइसकेको छैन। गाउँगाउँमा तालमेल भएका छन् । यसको विवरण जिल्ला अध्यक्षहरूलाई पनि थाहा भइसकेको छैन,’ उनले भने, ‘पालिका प्रमुख÷उपप्रमुखमा भने हाम्रो पार्टीबाट उम्मेदवारी परेको छैन । वडाध्यक्ष र वडा सदस्यमा भने उम्मेदवारी परेको जानकारी छ ।’
उनले कुन–कुन जिल्लामा कुन पदमा उम्मेदवारी परेको भन्ने अहिलेसम्म जानकारी नआएको दाबी गरेका छन्। राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले केही जिल्लामा तालमेल भए पनि यकिन विवरण आउन समय लाग्ने बताए ।
‘पाँचथर, सुनसरीलगायत जिल्लामा उम्मेदवारी परेको छ,’ उनले भने, ‘गोरखा, काठमाडौंतिर पनि हो कि‘ यकिन विवरण छैन । वैशाख १७ पछि थाहा होला ।’
राप्रपा नेपाल र एमालेसँग भएको चुनावी तालमेलको ४ नम्बर बुँदामा ’राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने । निजहरू निर्वाचित भएपश्चात पनि राप्रपा नेपालमै आवद्ध रहने’ उल्लेख छ।
तर स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार निर्वाचनमा जुन चिन्हबाट उठेको हो जितेपछि उक्त व्यक्ति सोही पार्टीको भएको मानिने उल्लेख छ । निर्वाचन ऐन र राप्रपा तथा एमालेबीचको सहमतिको बुँदा बाझिएको थियो ।
राप्रपा नेपालले तीर चिन्ह लिएर चुनावमा जाने तयारी गरिरहँदा अध्यक्ष थापाले पार्टीमा छलफलबिनै एमालेसँग सहमति गर्दै सूर्य चिन्ह लिएर उठ्ने निर्णय गर्दा केही नेता असन्तुष्ट थिए ।
दुई कारणले राप्रपा नेपालले यो चुनावमा आफ्ना उम्मेदवारहरू पालिका प्रमुख तथा उपप्रमुखमा उम्मेदवारी दिन सकेनन् । पहिलो– संगठन बलियो नहुँदा एमालेले प्रमुख पद छाड्न चाहेन । दोस्रो– राप्रपा नेपालका कार्यकर्ताले सूर्य चिन्हमा उठ्न चाहेनन् ।