काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले नेपालमा सबै प्रकारका यातायात साधनको नियमन एउटै निकायबाट हुनुपर्ने धारणा व्यक्त गरेकी छन्।
शुक्रबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
पछिल्लो समय यातायातको दायरा धेरै ठूलो भइसकेको उल्लेख गर्दै सबै प्रकारका यातायात सेवालाई एउटै मन्त्रालयअन्तर्गत राख्नुपर्ने उनको भनाइ थियो ।
‘यातायात सुरक्षालाई एकदमै नजिकबाट हेर्नुपर्ने आवश्यकता रहेको छ । सबै प्रकारका यातायातका सबै साधनहरूलाई एकदै ठाउँमा राखेर नियमन गर्ने तरिकाले एउटा मिनिस्ट्रीबाट हेर्ने व्यवस्था गर्दाखेरी उपयुक्त हुन्छ,’ सांसद गौतमले आफ्नो धारणा राखिन् ।
उनले नागरिक उड्डयन प्राधिकरण छुट्टै सेवा प्रदायक र नियामकको भूमिकामा जाने प्रश्तावबारे प्रश्न उठाउँदै नियमन पक्ष कमजोर नहोस् भन्नेमा सचेत रहन आग्रह गरिन् ।
उनले भनिन्, ‘यातायात सुरक्षालाई एकदमै नजिकबाट हेर्नुपर्ने आवश्यकता रहेको छ । सबै प्रकारका यातायातका सबै साधनहरूलाई एकै ठाउँमा राखेर नियमन गर्ने तरिकाले एउटा मिनिस्ट्रीबाट हेर्ने व्यवस्था गर्दाखेरी उपयुक्त हुन्छ । यातायातको साधनहरूमध्ये हवाई यातायात अलिकति सेफ हुन्छ भनेर मान्छे चढ्ने हो । अहिले पनि हवाई भन्दा सडक दुर्घटना धेरै भइरहेको छ । यसलाई पनि मध्यनजर गर्नुपर्छ । यो विधेयकमा सेवा दिने संस्थाले राम्रो सेवा दिनुपर्यो । सेवा प्रदायक संस्था हुने भएको यस प्राधिकरणले आम्दानी राम्रै गर्ला । तर नियमनकारी निकायले कसरी जोहो गर्छ त ? यो प्रश्न सैद्धान्तिक रूपमा उठेको कारणले यसरी हेर्नुपर्छ ।’
बैठकमा सहभागी अन्य सांसदहरूले पनि विधेयकलाई हवाई सुरक्षामा सुधार ल्याउने अवसरको रूपमा लिएर गम्भीरतापूर्वक अगाडि बढाउनुपर्ने धारणा राखेका थिए।





