काठमाडौं । एनआईसी एशिया बैंकको जनरल सर्भिस डिपार्टमेन्ट (जिएसडी) को खर्च प्रणालीमा चरम अनियमितता भएको पाईएको छ। बैंकका डेपुटी सीइओ सन्तोषकुमार राठीकै संलग्नतामा बैंकका जिएसडी विभाग प्रमुख सुजन पोखरेलले बैंकको विवध खरिद प्रक्रियादेखि अत्यावश्यक सामान खरिदमा समेत कमिसन लिने गरेको तथ्य भेटिएक हो।
बैंक सञ्चालनको लागि आवश्यक सम्पूर्ण सामग्रीको खरिद, आपूर्ति र व्यवस्थापन गर्ने महत्त्वपूर्ण विभाग जीएसडी हो। नयाँ शाखा स्थापना, भवन खरिद, मर्मतसम्भारदेखि लिएर सामान्य स्टेसनरीसम्मको खरिद कार्य यसै विभागमार्फत हुन्छ। महत्वपूर्ण जिम्मेवारी रहेको संवेदनशील विभागको कार्यभार सम्हाल्ने व्यक्तिको आचरण खराव हुँदा एनआईसी एशिया बैंकको जिएसडी विभाग भ्रष्टाचारको केन्द्र बन्दै गएको देखिन्छ। विभागका उच्चपदस्थ कर्मचारीहरूले यस विभागलाई आफ्नो स्वार्थअनुकूलका व्यक्ति भर्ती गरी टेन्डर प्रक्रियालाई समेत नियोजित ढंगले चलाउँदै आएको बैंककै कर्मचारीहरुको आरोप छ। यसले बैंक नेतृत्वको पारदर्शिता उत्तरदायित्व र जवाफदेहितामाथि समेत गम्भीर प्रश्न उठाएको छ।
आँफू अनुकूल बनाउने रणनीति अनुरुप पछिल्लो समय बैंकका सीइओ र डेपुटी सीइओले बैंकका महत्वपूर्ण एवं संवेदनशील विभागीका नेतृत्व समेत बारम्बार हेरफेर गर्दै आएका छन्।
बैंक स्रोतका अनुसार एनआईसी एशिया बैंकको जिएसडी विभागमा आँफू अनुकुलका व्यक्ति भित्र्याउन उच्च व्यवस्थापकीय कर्मचारी वृत्तमा ठूलो राजनीति हुने गर्दछ। स्रोतका अनुसार सिनियरले आँफू अनुकूल भित्र्याएका कर्मचारी मार्फत् सामान खरिददेखि भवन तथा सवारी खरिद, निर्माण लगायतका ठूला प्रोजेक्टहरुमा व्यापक रूपमा कमिशनको छलखेल गर्ने गरेका छन्। जसका कारण बैंकभित्रका कर्मचारी- कर्मचारीमै किचलो देखिन्छ।
बैंकका जुनसुकै शाखा वा विभागलाई आवश्यक पर्ने सम्पूर्ण किसिमको सामग्री यही विभागमार्फत खरिद हुने हुँदा यो विभाग अत्यन्त शक्तिशाली र प्रभावशाली मानिन्छ। यसमा आँफू अनुकूलका कर्मचारी राख्न बैंकका सिनियरदेखि संचालकको समेत हानथाप हुने गरेको छ।
केहि समय अघि बैंकको जिएसडी विभागमा बैंकका सीइओ रोशनकुमार न्यौपानेका अति निकट कैलाश गौतम थिए। गौतमसँगको मतभेदपछि न्यौपानेले उनलाई हटाएर धिरेन्द्र वाग्लेलाई उक्त विभागको जिम्मेवारी सुम्पिएका थिए। हाल न्यौपाने र गौतमबीच पानी बाराबार छ। यतिसम्म कि न्यौपानेले केहि दिनअघि चिनेका/नचिनेका ४ हजारभन्दा बढी मान्छे डाकेर गोकर्ण रिसोर्टमा आयोजना गरेको पारिवारिक भोजमा गौतमलाई निम्ता नै गरेनन्।
सीइओ र डेपुटी सीइओबीचको भागवण्डामा कर्मचारी पदस्थापन हुने प्रतिष्पर्धाकाबीच केहि समयमै सन्तोष कुमार राठीले वाग्लेलाई हटाए। उनको ठाउँमा राठीले आँफू विराटनगरका शाखा प्रमुख हुँदा आँफैले बैंकको करार सम्झौतामा राखेका विश्वासपात्र सुजन पोख्रेललाई ल्याएका छन्। डेपुटी सीइओ राठीको आडमा पोखरेलले बैंकको जिएसडी विभागमा आएको छोटो समयमै नियमविपरित काम गरेको भेटिएपछि उनको अनियमिताबारे बैंकभित्रकै कर्मचारीले प्रश्न उठाउन थालेका छन्। जिएसडी विभागका प्रमुख पोखरेल र तिनले गरेका अनियमिताबारे छानविन माग समेत उठिरहेको छ।
बैंकको जिएसडी विभागमै कार्यरत एक कर्मचारी भन्छन्,- ‘यस विभागले गर्ने हरेक खरिद प्रक्रियामा अनियमितता छ। सार्वाजनिक खरिद ऐन देखाएर पारदर्शिताको कुरा गरेपनि जुन सप्लायर्ससँग कमिसनको कुरा मिल्छ उसैलाई टेन्डर दिने गरिएको छ। यसको प्रत्यक्ष रिपोर्टिङ डिसीइओले हेर्ने भएकाले उहाँको संलग्नताबिना यो सम्भव नै छैन। यो बिषय उहाँलाई प्रष्ट थाहा छ, पोखरेल उहाँकै मान्छे हुन्।’
बैंकमा डेपुटी सीइओकै संलग्नतामा व्यापारिक फर्महरूसँग मिलेर सेटिङ गर्ने, सामान आपूर्तिमा मनपरी मूल्य निर्धारण गर्ने, मिलेमतोमा टेन्डर वितरण, र समानको गुणस्तरमा लापरवाहीजस्ता अनियमितता हुँदै आएको उनको गुनासो छ। यसमा बैंकको आन्तरिक लेखा परिक्षण तथा नियामक निकायले समेत ध्यान नदिएको उनी गुनासो गर्छन्।
हाल डेपुटी सीइओ राठीले कर्जा, जिएसडी, ब्रान्डडिंग लगायत बैंकका महत्वपूर्ण विभागको जिम्मेवारी लिएका छन्। उनले कमिसन लिएर कमसल धितोमाथि समेत कर्जा दिने गरेकोले बैंकलाई हरेक ठूला कर्जामा करोडौं रुपैयाँ हुने गरेको पाईएको छ। राठी यसअघि बिराटनगरका शाखा प्रमुख भएका समयमा घुस लिएको प्रमाणित भएपछि विवादमा तानिएका थिए।
तर, डेपुटी सीइओ राठीले भने यस बिषयलाई अस्वीकार गरेका छन्। उनी भन्छन्,- ‘मैले कुनै पनि कर्जा या खरिदमा कमिसन लिने गरेको छैन, यो प्रमाणित हुने सक्दैन, विभागमार्फत् अनियमिता भएको भए बुझौँला।’
छुटाउनु भयो कि?
एनआईसी एशिया बैंकको व्यापार प्रवर्द्धन खर्च मात्रै झन्डै साँढे ३५ करोड, उपलब्धी शुन्य [विवरणसहित]
एनआईसी एशिया बैंकको ९ रोपनी ९ आना जग्गा काण्ड: मेनेजरले बुझेको १५ लाख क- कसको भागमा पर्यो?
एनआईसी एशिया बैंकमा ‘संगठित आर्थिक अपराध’: करोडौँका मालिक थापा भए सुकुम्बासी [फलोअप]
एनआईसी एशिया बैंकको उच्च व्यवस्थापनमा किचलो, १ महिनामै फेरियो तीन ‘ब्रान्डिङ्ग हेड’







