काठमाडाैं । चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले युवाहरुलाई विदेश जानबाट रोक्न र नेपालमै रोजगारीका अवसरहरू सिर्जना गर्न आवश्यक रहेको बताएका छन् । मिडिया इन्टरनेशनलद्वारा आयोजित ‘काम गरौं आफ्नै देशमा’ कार्यक्रमको शुभारम्भ कार्यक्रममा मल्होत्राले नेपालका युवाहरुलाई आफ्नै देशमा अवसर खोज्न प्रेरित गर्ने आह्वान गरे ।
मल्होत्राले भने, ‘नेपालका युवाहरू विदेश जानको लागि बाध्य भएका छन्, तर यसले दीर्घकालीन समाधान दिने छैन । यदि हामी नेपालमै रोजगारीका अवसरहरू सिर्जना गर्न सक्यौं भने, धेरै युवाहरू विदेश जान चाहँदैनन् ।’ उनले त्यसका लागि शैक्षिक प्रणालीमा सुधार र कलेजहरूको संख्या वृद्धि गर्ने प्रस्ताव समेत गरे ।
उनले भने, ‘हामी युवाहरुलाई नेपालमै काम गर्ने प्रोत्साहन दिनुपर्छ, त्यसका लागि हामी सहकार्य गर्न तयार छौं ।’
वैदेशिक रोजगारमा गएका युवाहरुलाई नेपाल फर्काएर कामका अवसरहरू उपलब्ध गराउनुपर्ने उनले जोड दिए । उनले भने, ‘नेपालमा ठूलो सम्भावना छ । यदि चेम्बर अफ कमर्स र अन्य निजी क्षेत्र मिलेर सही रणनीति बनाउन आवश्यक छ । हामी छिट्टै विदेशीएका युवाहरुलाई नेपालमै बोलाएर रोजगारीका अवसर दिने तयारीमा छौं ।’
मल्होत्राले नेपालको आगामी बजेटमा युवाहरुलाई रोजगारी दिनका लागि महत्वपूर्ण पहल भएको र यसलाई निजी क्षेत्रसँगको सहकार्यमा सफल बनाउन सकिने विश्वास व्यक्त गरे । उनले भने,‘नेपालमा एक लाख घर बनाउने र रियल स्टेट, सुरक्षा उद्योग, डड्डी उद्योग जस्ता क्षेत्रमा ठूलो अवसर उत्पन्न गर्न सकिन्छ । यसले लाखौं युवालाई रोजगारी दिनेछ ।’
उनले युवाहरुलाई नेपालमै रहि काम गर्न नयाँ अवसरहरू सिर्जना गर्न आवश्यक रहेको बताए । ‘नेपालका युवाहरू विदेशबाट रेमिट्यान्स पठाउँछन्, जसले देशको अर्थतन्त्रलाई चलायमान राख्दछ । तर, यदि रेमिट्यान्स नआएको भए, हाम्रो देशको स्थिति के हुन्थ्यो ?’ भन्दै उनले प्रश्न गरे ।
रोजगारीका अवसरहरू सिर्जना गर्न र नेपालमै युवाहरूलाई सशक्त बनाउन मल्होत्राले सरकारी र निजी क्षेत्रसँगको समन्वय र रणनीतिक पहलहरू आवश्यक रहेको बताए ।






