लिङ्देनका कारण राप्रपाको अवस्था खस्कियो: महामन्त्री राणा

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध फरक मत ल्याएका महामन्त्री डा धवलशमसेर राणाले बिरामी भएको बेलामा आफूलाई संगठन विभाग प्रमुखको जिम्मेवारीबाट हटाइएको भन्दै कटाक्ष गरेका छन् ।

राणाले अध्यक्ष लिङ्देनको कार्यशैलीका कारण राप्रपाको अवस्था खस्किएको भन्दै प्रतिवेदन ल्याएका थिए।

शुक्रबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नो राजनीतिक विचार प्रस्तुत गर्दै राणाले बिरामी भएको बेलामा मानवीयताको समेत ख्याल नगरी जिम्मेवारी खोसिएको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनप्रति कटाक्ष गरेको एक नेताले बताए ।

उनले भने, ‘पछिल्लो घटनाक्रम जस्तो पार्टीमा बिरामी हुनै नपाइने, अस्पताल भर्ना भयो कि कारबाही हुने जस्ता साँघुरो मनोवृत्ति नजिर बने राप्रपामा महामन्त्री मात्र होइन, अध्यक्ष, अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरू बिरामी हुनासाथ पद गुम्ने व्यवस्था नियमित हुनेछ ।’

उनले आफूलाई हठात् संगठन विभाग प्रमुखबाट हटाइनु मानवीय, राजनीतिक र वैधानिक कुनै पनि दृष्टिबाट न्यायोचित नभएको समेत बताएको ती नेताको भनाइ छ ।

केही महिनाअघि राणा उपचारका लागि भारत गएको बेला अध्यक्ष लिङ्देनले उनलाई संगठन विभाग प्रमुखबाट हटाएर उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *