ताप्लेजुङ । ताप्लेजुङ पाथिभरा क्षेत्रमा बन्न लागेको केबलकारको विरोधमा उत्रिएको स्थानीय समुह र निर्माण पक्षबाट खटाइएका प्रहरीबीच झडप भएको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ काफ्ले पार्टीभन्दा केहीमाथि पाथिभरा मन्दिर जाने सडक खण्डमा केबलकारको विरोधमा रहेकाहरू र प्रहरीबीच झडप भएको हो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रूग्यास प्रहार गरेको छ । झडपका कारण पाथीभरा माताको दर्शनका लागि पुगेका यात्रु केही समय बाटोमै रोकिएका थिए ।
पाथीभरा जाने केबलकारको निर्माणको काम मंगलबारबाट सुरु भएको थियो । ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी रवि रावलका अनुसार केबलरकार निर्माणको विरोधमा रहेकाहरू संगठित रूपमा रोक्ने तयारीसहित भेला भएका थिए । त्यही क्रममा प्रहरी पुगेपछि झडप भएको हो ।
डीएसपी रावलले पहिचान पक्षधरको समूहलाई तितरबितर पार्न नेपाल प्रहरीले ५ र सशस्त्र प्रहरीले ७ सेल अश्रुग्यास प्रहार गर्नुपरेको जानकारी दिए । आन्दोलनरत पक्षले आन्दोलनका लागि ल्याएको खुकरी र गुलेली पनि प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।

नेपाल पूर्वको ताप्लेजुङमा ३ हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिक शतिपिठ पाथीभरामा केवलकार बनाउने विषय विवादित बनेको छ। पाथीभरा स्थल निकै शक्तिशाली एवंम् पौराणिक महत्वको धार्मिक स्थल भएकाले यसलाई यथास्थितिमै रहन दिनुपर्छ भन्ने स्थानीयको माग छ। जसका कारण उनीहरु उक्त स्थानमा केबलकार बन्न दिनु हुँदैन भन्ने अडानमा छन् ।
पाथीभरामा एकातर्फ स्थानीय मुक्कुमलुङ बचाऊ संरक्षण समितिसहित पाथीभरालाई मक्कुमलुङ्गका नाममा विशेष आस्था राख्ने स्थानीयहरुले पाथीभरामा केबलकार निर्माण गर्न नमिल्ने भन्दै आन्दोलन गर्दै आएका छन्। निजी कम्पनीले व्यापारिक प्रयोजानका लागि बनाइएका केवलकार राष्ट्रिय आयोजना हुन नसक्ने स्थानीयको भनाई छ।
तर अध्यक्ष चन्द्रप्रसाद ढकालसहितका व्यपारीले प्रसिद्ध तीर्थस्थलमा यात्रा गर्न केबलकारले थप सहज हुने दावी गर्दै आएका छन् ।







