त्रिवेणी ग्रुपको अनौठो धन्दा: उद्देश्य प्लास्टिक उत्पादन, तर एकै व्यक्तिका दर्जनौँ कम्पनीबाट शेयर कारोबार

काठमाडौं। नेपाल धितोपत्र बोर्डले दोस्रो बजार (सेकेन्डरी मार्केट) मा लगानी गर्ने ठूला कम्पनीहरुको अवस्था र यसले बजारमा पारेका प्रभावबारे सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार एकै व्यक्ति अधिकांश कम्पनीमा मालिका रहेको पाईएको छ। बोर्डको प्रतिवेदनअनुसार एकै व्यक्ति प्रमुख रहनेमा धेरैजस्तो माडवाडी र त्यसमा पनि त्रिवेणी ग्रुप रहेको छ ।

बोर्डको प्रतिवेदन अनुसार एकै व्यक्ति कार्यकारी प्रमुख रहने गरी फरक फरक नाममा धेरै लगानी कम्पनी स्थापना गरेका छन्। जसमा बिरेन्द्र कुमार संघाई, पुरुषोत्तमलाल संघाई, गोविन्द लाल संघाई, रामचन्द्र संघाई, सुभाषचन्द्र संघाई, सुशिलादेवी संघाई आदि व्यक्ति प्रमुख रहेका छन्।

प्रतिवेदन अनुसार विरेन्द्र कुमार संघाईका नाममा १७ वटा,  पुरुषोत्तम लाल संघाईको नाममा १९ वटा , गोविन्द लाल संघाईको नाममा २० वटा , रामचन्द्र संघाईको नाममा १३ वटा , सुभाषचन्द्र संघाईको नाममा १३ वटा र सुशीलादेवी संघाईको नाममा ४ वटा कम्पनी रहेका छन्।

यी कम्पनीहरुको उदेश्य रियल स्टेट तथा आवास निर्माण,कृषि, प्लाष्टिकजन्य वस्तु उत्पादन,कपडा उत्पादन आदि रहेका छन्। तर यी कम्पनीहरुले उदेश्य विपरीत दोस्रो बजारमा शेयर कारोबार गरिरहेका छन्।

बोर्डको प्रतिवेदन अनुसार संघाई समुहद्वारा संचालन भएका कम्पनीहरु उत्पादनमुलक, व्यापार तथा सेवाको उदेश्य राखी स्थापना भएका छन्। तर उनीहरुले कम्पनीको संचालक समितिको बैठकबाट निर्णय गराएर शेयरको खरिद विक्री गर्ने निर्णय गरी शेयर कारोबार गरिरहेका छन्।

यसरी, एकै व्यक्तिले फरक -फरक कम्पनी दर्ता गरी सो कम्पनीहरु मार्फत् कारोबार गर्दा शेयर बजारमा अवान्छित प्रभाव पर्ने बोर्डले निष्कर्ष निकालेको छ। यसका लागि उक्त कम्पनीको नियामक निकायसँग समन्वय गर्नुपर्ने देखिएको बोर्डले जनाएको छ। त्यस्तै नियमनकारी निकाय नभएका कम्पनीका सम्बन्धमा बोर्ड आँफै सक्रिय भई आवश्यक कारबाही प्रकृया अघि बढाउनु पर्ने निष्कर्ष निकालेको छ।

एकै व्यक्ति कार्यकारी प्रमुख रहने गरी एकै व्यक्ति संलग्न भएका धेरै लगानी कम्पनीहरु बजारमा सक्रिय हुँदा एकै व्यक्तिले  आफ्नो एक कम्पनीबाट शेयर विक्री गरी आपूर्ति बढाउने र आफ्नै स्वामित्वमा रहेको अर्को कम्पनीबाट पुन: खरिद गर्ने गरेकोले बजारको प्रभावकारीतामा नकारात्मक असर पारेको बोर्डले जनाएको छ। त्यसकारण यो अवैधानिक कार्य र यस्तो किसिमको गलत प्रवृत्ति तत्काल रोक्नुपर्ने देखिएको बताएको छ।

बोर्डले यी व्यक्ति र उनीहरुद्वारा संचालित कम्पनीलाई कानुनी दायरामा ल्याउनुपर्ने निष्कर्ष निकालेको छ।

बोर्डले बजारमा हावी भएका अधिकांश लगानी कम्पनी व्यापारीक धरानाको स्वामित्वमा भएको र शेयरको धितोमा दिइने मार्जिन प्रकृतिको ऋणमा उनीहरुको संलग्नता रहेको तथा व्यवसायिक कारोबारको भुक्तानी गर्नुपर्ने कारणले आफ्नो तरलता व्यवस्थापनको लागि शेयरको तीव्र विक्री गरेको र नेप्सेमा अनपेक्षित गिरावट आएको जनाएको छ।

यसबारे हामीले रामचन्द्र संघाई र उनका भतिज आदित्यालाल संघाईलाई सोधेका छौँ।  तर उनीहरुले यस बिषयमा आँफुहरुलाई कुनै पनि जानकारी नै नभएको जवाफ दिए । उनीहरु भन्छन्,’ यो सम्बन्धमा हामीलाई बोर्डबाट पत्र आएको छैन, त्यसैले जानकारी भएन, हामीले कम्पनीको उदेश्य अनुसार नै काम गरेका छौँ।

तर, उनीहरुले माथि उल्लेखित कम्पनीले ब्रोकर नम्बर ८, १७ बाट कारोबार गर्ने गरेको बोर्डको प्रतिवेदनले नै जनाएको छ।

पछिल्लो समय अप्रत्यासित रुपमा शेयर बजार घट्ने बढ्ने भईरहेकोमा ठूला कम्पनीमार्फत्  एकै व्यक्तिले खरिद- बिक्री गर्दा साना लगानीकर्ता मारमा परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *