सुन तस्करी प्रकरणबारे सिआइबी पुगेर कृष्णबहादुर महराले के-के भनेका थिए ?

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले रुपन्देहीको भैरहवाबाट पक्राउ गरेको छ। सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा महरालाई प्रहरीले आज बिहान पक्राउ गरेर काठमाडौं ल्याएको हो।

महरालाई काठमाडौं पुर्‍याउने वित्तिकै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) कार्यालयमा लगिएको छ। भैरहवाबाट पक्राउ परेका महरालाई विमानस्थल हुँदै लाजिम्पाटस्थित सिआइबी कार्यालय लगिएको हो।

महरालाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले आइतबार प्रहरी नेतृत्वलाई निर्देशन दिएका थिए। गृहमन्त्री लामिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिएकोमा प्रहरीले महरामाथि उच्च निगरानी बढाइरहेको थियो।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महराविरुद्ध मुद्दा चलाउन सिफारिस गरेपछि गृहमन्त्रीले कारबाहीका लागि निर्देशन दिएका थिए।

भेपमार्फत् भएको सुन तस्करी प्रकरणमा महराले आफूले चिनियाँ नागरिकलाई भेटेको र भन्सार अधिकृतलाई छुटाइदिन कुराकानी गरेको यसअघि नै स्वीकार गरेका थिए।

महराले आफ्नो बारेमा पार्टीभित्र र सार्वजनिक रुपमा कुरा उठेपछि आफैं सिआईबीकहाँ पुगेर बयान दिएका थिए। स‌सद्‌मा महरा र उनका छोरा राहुल महरामाथि एमालेलगायत दलका सांसदले सदनमा कुरा उठाएपछि महरा सिआईबी पुगेका थिए।

महराले सिआइबीसामू सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दाओजिन वाङसँग १० वर्षदेखिको चिनजान रहेको बयान दिएका थिए। उनले चिनिया नागरिकलाई फलफूल व्यवसायीको रुपमा चिनेको उनको भनाइ थियो।

विगत १५ वर्षयता नेपालमै बस्दै आएका र नेपाली पनि बोल्ने वाङसँग पुरानो चिनजान रहेको महराको भनाइ थियो। उनले वाङसँग आफूले टेलिफोनमा कुरा भएको बताएका थिए। सुन तस्करीमा छानबिनका लागि गठन भएको न्यायाधीश नेतृत्वको समितिमा पनि उनले त्यही कुरा गरेका थिए। समितिले उनको कुरालाई आधार बनाउँदै मोबाइल डीएफएल परीक्षणमा पठाएको थियो।

ल्याब परीक्षणको प्रतिवेदनपछि महराको टेलिफोन सम्वादसहित अन्य कुरा समितिले अध्ययन गरेपछि अभियोगपत्र लैजान सिफारिस गरेको थियो।

भन्सारमा आफ्नो इलेक्ट्रिक चुरोट (भेप) को सामान रोकिएपछि आफू जेलमा हुँदा चिनेका एक अधिकृतसँग कुरा गरेको उनको भनाइ थियो। तर, सुनबारे वाङले केही नभनेको र आफूले पनि ती अधिकृतसँग कानुनसम्मत कार्य अगाडि बढाउन भनेको दाबी उनले गरेका थिए।

तर छानबिन समितिले उनले भनेकोभन्दा धेरै नै फरक पाएपछि अभियोगपत्र दायर गर्न भनेको थियो।

‘मसँग टेलिफोन भएको होइन, भेट भएको हो। इलेक्ट्रिक चुरोटको सामान आएको छ भन्सारमा भनेपछि भन्सारका साथीसँग कानुनअनुसार काम गर्नुहोला, रोक्नपर्ने भए रोक्नु, छोड्नुपर्ने हो भने छोड्नु, ढिला गर्नुपर्ने हो भने गर्नु भनेको हो। यत्ति हो कुराकानी भएको,’ उनले भनेका थिए। वाङले भन्सारमा इलेक्ट्रिक चुरोटको सामान रोकिएको भन्दा सुनको ‘स’ अक्षर पनि उच्चारण नगरेको महराको दाबी थियो।

‘मैले केही इलिगल समान हो र भनेर सोधेँ। इलिगल होइन भने। इलिगल होइन भने के समस्या हो त भनेर भन्सारका साथीसँग कुराकानी भएको हो,’ उनले बयानमा भनेका छन्।

उनले तस्कर आरोपी ती व्यक्तिसँग छोरा राहुलको टेलिफोन पनि सुनसँग सम्बन्धित नभएको दाबी गरेका थिए। भन्सारमा कुरा गरेका ती कर्मचारीसँग आफू जेल बस्दा चिनजान भएको उनले बयानमा उल्लेख छ।

उनले भनेका थिए, ‘म १०-१५ वर्षसम्म सरकारी पदमा छु। विगतमा जेलमा परेको बेला, जेलमै भएका एक साथी थिए अधिकृत। कुरा भइराख्थ्यो। छोड्नुपर्ने हो भने छोड्नु, जे गर्ने हो कानुनसम्मत गर्नु भनेको हो,’ उनले भनेका थिए।

उनले सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनमा सघाउन आफू तयार रहेको पनि बयानमा बताएका छन्। उनले भनेका छन्, ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउन तयार छु भनेर भन्दै आएको छु। अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु। तर बेलाउँदैनन् त के गर्नु?’

उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *