काठमाडौं । आयकर छली र गुणस्तरहीन उत्पादनका कारण पटक–पटक अनुसन्धान तथा विवादमा तानिँदै आएको शंकर ग्रुपअन्तर्गतको जगदम्बा ग्रुप शंकास्पद आर्थिक कारोबार प्रकरणमा पनि मुछिएको छ । शक्ति केन्द्रको संरक्षणमा शंकास्पद आर्थिक कारोबार गर्दै आएका बिचौलिया दीपक भट्टको खातामा ४५ करोड शंकास्पद रकम जम्मा गरिदिएपछि शंकरलाल अग्रवालका छोरा शाहिल अग्रवाल अध्यक्ष रहेको जगदम्बा ग्रुप पनि अनुसन्धानमा तानिएको हो । शंकरलाल शंकर ग्रुपका अध्यक्ष हुन् ।
राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू) ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई दिएको उल्लेख भए अनुसार भट्टको नाममा सिद्धार्थ बैंकमा रहेको खातामा सन् २०२१ जुनमा जगदम्बा स्टिल प्रालिका नाममा नेपाल इनभेस्टमेन्ट बैंकमा रहेको खाताबाट ४५ करोड रुपैयाँ ‘ट्रान्सफर’ भएको थियो । तर, जगदम्बा स्टिलको २०७७÷७८ को लेखापरीक्षण प्रतिवेदनमा भट्ट र उनको कम्पनीसँग ४५ करोडको कारोबार भएको विवरण समावेश नरहेको एफआईयूको पत्रमा उल्लेख छ ।
राष्ट्र बैंकले गत कात्तिक १४ मा विभागलाई पत्राचार गरेको हो । त्यसपछि शक्ति केन्द्रकै दाबाब र प्रभावमा अल्मलिँदै अघि बढेको अनुसन्धानका क्रममा भट्ट र शंकर ग्रुपअन्तर्गतका कम्पनीहरूबीच औपचारिक व्यावसायिक साझेदारी फेला परेको छैन । उनीहरू हिमालयन रि–इन्स्योरेन्सका साझेदार भने हुन् ।
शंकर ग्रुपअन्र्तगतको जगदम्बा ग्रुपका अध्यक्ष शाहिल व्यवसायिक वृतमा राजनीतिक पहुँच कम भएको व्यक्ति मानिन्छन् । तर पछि नेता तथा शक्ति केन्द्रसँग बलियो पहुँच भट्टकहाँ उनी ओत खोज्दै पुगेपछि भट्ट र शंकर ग्रुपबीचको सम्बन्ध थप बलियो हुँदै गएको बताइन्छ ।
सबैजसो सरकारका पाला शक्ति संरक्षणमा अवैध चलखेल गर्दै आएका भट्ट सेना र प्रहरीको रासन, पोसाक र हेलिकोप्टरदेखि हतियारसम्म ठेक्का र जलविद्युत्का लाइसेन्समा रजगज गरिरहेका व्यक्ति हुन् । अझ, शेरबहादुर देउवा प्रधानमन्त्री र जनार्दन शर्मा अर्थमन्त्री भएका बेला त उनले निश्चित व्यापारीको स्वार्थअनुसार करका दर हेरफेरमै हस्तक्षेप गरेको आरोप छ । उनै भट्टसँग शंकर ग्रुपको शंकास्पद आर्थिक कारोबारमा साँठगाँठ रहेको पाइएको पाइएको हो ।
शंकर ग्रुप उही व्यापारिक समूह हो, जसले नेपालका बैंकहरुबाट ७५ अर्बभन्दा बढी ऋण लिएको छ । ता कि कम्पनीको कूल पुँजी ३० अर्ब हाराहारी मात्र रहेको बताइन्छ । यसर्थ शंकर ग्रुप डुबेको अवस्थामा नेपालको सारा बैंक टाट पल्निेट अवस्थामा पुग्ने छन् । यसबारे बैंकिङ क्षेत्रका एक विज्ञ भन्छन्, ‘हो, शंकर ग्रुपको सबै सम्पतिभन्दा डबल बढी ऋण छ भन्ने भन्ने कुरा मैले पनि समाचारहरुमा पढेको हो । अब कुनै कारणले यो ग्रुप डुब्यो भने पक्कै नेपालको बैंकिङ क्षेत्र सँगसँगै मुलुकको अर्थतन्त्र नै संकटमा पर्न सक्छ । तसर्थ शंकर ग्रुपका सबैको नागरिकता र पासपोर्ट नियन्त्रणमा लिइनुपर्छ ।’
शंकर ग्रुपअन्तर्गतको जगदम्बा ग्रुपसँग भट्ट र उनको एकल स्वामित्वमा रहेको ‘इन्फिनिटी होल्डिङ्स प्रालि’बीच शंकास्पद कारोबार भएको खुलेपछि अहिले सम्पत्ति शुद्धिकरण विभागले प्रारम्भिक अध्ययन गरिरहेको छ । तर अनुसन्धान प्रभावकारी हुन नसकेको देखिएको छ ।
कहाँसम्म तानिएला शंकास्पद कारोबारको लहरो ?
दीपक भट्ट निरन्तर जसो विवादमा तानिएका तर राजनीतिक नेता तथा शक्तिकेन्द्रको भित्री संरणमा छुटकारा पाउँदै आएका व्यक्ति हुन् । पछिल्लो पटक बाहिरिएको ४५ करोडका शंकास्पद कारोबारमा भट्टसँग उच्च पदस्थ व्यक्तिहरुको समेत संलग्नता हुन सक्ने आशंका गरिएको छ ।
भट्ट निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पन्ती आरजु राणाको निकट भएका कारणा निष्पक्ष अनुसन्धान हुन सके यो प्रकरण लहरो केन्द्रसम्मै पुग्न सक्ने एक नागरिक अगुवाको दाबी छ । सम्पति सुद्धिकरण विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिाषद्को कार्यालयअन्तर्गत पर्ने हुँदा निवर्तमान प्रधानमन्त्री परिवारको संलग्नता हुन सक्नेतर्फ पनि आशंक गर्न सकिने ती नागरिक अगुवाको दाबी छ ।तर भट्टले भने यो कारोबारमाथि शंका गर्न नमिल्ने बताएका छन् । उनले आफ्नो नाममा रहेको जग्गा जगदम्बा स्टिललाई बिक्री गर्न बैनाबट्टा गरेबापतको रकम आफ्नो खातामा ट्रान्सफर भएको दाबी गरेका छन् ।
भट्ट पहिलेदेखि अरू नेता जस्तै पूर्वअर्थमन्त्री शर्माका पनि निकटस्थ हुन् । शर्मा नै ऊर्जामन्त्री भएका बेला २ खर्ब ६० अर्ब लगानीको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा भट्ट स्थानीय एजेन्ट रहेको चाइना गेजुवा ग्रुप कम्पनीले विनाप्रतिस्पर्धा पाएको थियो । तर आयोजना अलपत्र छ । शर्माले २०७८÷७९ का लागि प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमासमेत शंकर ग्रुपको निर्माणाधीन होटललाई लाभ हुने गरी कर छुट दिएका थिए । एनले ‘२०८२ सालसम्म सञ्चालनमा आउने निर्माणाधीन होटल तथा रिसोर्टलाई सवारीसाधन आयातमा भन्सार महसुल छुट दिने’ व्यवस्थासहित बजेट ल्याएका थिए ।
यो पनि
कारबाहीपछि पनि जगदम्बा स्टीलको छड गुणस्तरहीन, लापरबाही ढाकछोप गर्न अनेक हतकण्डा
जगदम्बा स्टीलको कर्तुत : कवाडी बटुलेर फलामे छड, उच्च गुणस्तरको भन्दै उपभोक्ता ठग्दै






