काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, मर्यादित र आचारसंहिताअनुरूप सम्पन्न गर्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई कडा चेतावनी दिएका छन्।
फागुन २१ गते हुने निर्वाचनको १५ दिने प्रचारप्रसार अवधिको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले आचारसंहिता उल्लंघनका घटनामा आयोगले ‘शून्य सहनशीलता’ अपनाउने स्पष्ट पारे। उनका अनुसार आचारसंहितालाई केवल औपचारिक दस्तावेजका रूपमा नलिई व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने दायित्व सबै राजनीतिक पक्षको हो।
निर्वाचन कार्यतालिकाअनुसार फागुन ३ गते राति १२ बजेदेखि १८ गते राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाइनेछ। यस अवधिमा जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत प्रचार सामग्री प्रसारण गर्न अनुमति हुनेछ। तर १८ गते राति १२ बजेसँगै ‘मौन अवधि’ सुरु हुनेछ र त्यसपछि कुनै पनि प्रकारको प्रचारप्रसार पूर्ण रूपमा निषेध रहने आयोगले जनाएको छ।
आयोगका अनुसार आचारसंहिता उल्लंघनका घटनामा स्पष्टीकरण सोध्ने, जरिवाना गर्ने, चेतावनी दिने वा आवश्यक ठहरिए उम्मेदवारी नै खारेज गर्नेसम्मको कारबाही हुन सक्छ। गम्भीर उल्लंघन प्रमाणित भएमा सम्बन्धित उम्मेदवारलाई ६ वर्षसम्म कुनै पनि राजनीतिक प्रतिस्पर्धामा भाग लिन नपाउने निर्णय समेत गर्न सकिने भण्डारीले बताएका छन्।
आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सबै पक्षलाई जिम्मेवार व्यवहार प्रदर्शन गर्न आग्रह गरेको छ।






