विद्युत् प्राधिकरणले ग्राहक सेवा प्रभावकारी बनाउन ‘एई साथी’ कार्यान्वयनमा ल्याउँदै

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले सेवा प्रवाहलाई छिटो, सरल र प्रविधिमैत्री बनाउन कृत्रिम बौद्धिकता (एआई) आधारित ‘एनइए एआई साथी’ प्रणाली कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। डिजिटल रूपान्तरणलाई संस्थागत प्राथमिकता दिँदै एआईलाई ग्राहक सेवाको ‘डिजिटल सहायक’का रूपमा प्रयोग गर्ने लक्ष्य राखिएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार ‘एआई साथी’मार्फत सूचना प्राप्ति, गुनासा दर्ता, बिल र मिटरसम्बन्धी जानकारीलगायत सेवामा च्याट–आधारित सहयोग उपलब्ध हुनेछ। मोबाइल तथा डिजिटल माध्यमबाट २४ सै घन्टा सेवा लिन सक्ने वातावरण बनाउने तयारी छ।

एआईलाई संस्थागत रूपमा आत्मसात् गर्न प्राधिकरणले ‘एआई ह्याकाथन २०८२’ आयोजना गरेको छ, जहाँ कर्मचारीहरूले ग्राहक सेवा सुधार, प्रशासनिक प्रक्रिया सरलीकरण, डेटा विश्लेषण र स्मार्ट मिटर व्यवस्थापनसम्बन्धी २७ प्रस्ताव प्रस्तुत गरेका छन्। उत्कृष्ट र व्यवहारिक अवधारणालाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने योजना छ।

प्राधिकरणका अनुसार ‘एआई साथी’ प्रारम्भमा ग्राहक सेवा र सूचना प्रवाहमा केन्द्रित हुनेछ भने भविष्यमा लोड व्यवस्थापन, पूर्वानुमान र डेटा–आधारित निर्णय प्रक्रियासम्म विस्तार गरिनेछ। सार्वजनिक सेवा क्षेत्रमा एआई प्रयोगको यो पहललाई भविष्योन्मुख र नवप्रवर्तनतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *