काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदैछ। निर्वाचन कार्यतालिकाअनुसार आजै उम्मेदवारलाई चुनाव चिह्न पनि वितरण गरिनेछ।
निर्वाचन आयोगका अनुसार आज उम्मेदवारले नाम फिर्ता लिने समय बिहान ९ बजेदेखि १ बजेसम्मलाई तोकिएको छ। १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने समय ३ देखि ४ बजेसम्मलाई तोकिएको निर्वाचन आयोगले जनाएको छ।
कार्यतालिकाअनुसार चैत २८ देखि वैशाख १२ सम्म प्रचारप्रसारका लागि समय तोकिएको छ भने वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको लागि समय तोकिएको छ।
मनोनयन दर्ता गराउनेमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टीले साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्बाङ, नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीले मिलनकुमार योङहाङ लिम्बू तथा पहिचान पक्षधरतर्फबाट डकेन्द्रसिंह थेगिम स्वतन्त्र उम्मेदवार छन्। उपनिर्वाचनका लागि २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) समाजवादीबाट जितबहादुर राई उम्मेदवार बनेका छन्।
राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराए। स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, केशवकुमार चापागाईं, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।






