मञ्जुश्री फाइनान्सको लाभांश लिन बाँकी शेयरधनीलाई खाता अद्यावधिक गर्न आग्रह

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले लामो समयदेखि नगद लाभांश लिन बाँकी रहेका शेयरधनीलाई आफ्नो बैंक खाता तथा डिम्याट खाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ। कम्पनीले बैंक खाताको विवरण अद्यावधिक नहुँदा विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांशसमेत शेयरधनीको खातामा जम्मा हुन नसकेको जनाएको छ।

कम्पनीले कात्तिक २२ गते सूचना जारी गर्दै डिम्याट खातामा बैंक खाताको विवरण अद्यावधिक नगरेका शेयरधनीलाई आफूले डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्य (डीपी) मा सम्पर्क गर्न भनेको हो। शेयरधनीले आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गरी कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको बैंक खाताको विवरण उपलब्ध गराउनुपर्ने कम्पनीले जनाएको छ।

त्यस्तै, डिम्याट खातामा बैंक खाताको विवरण प्रविष्ट गर्दा भएको त्रुटिका कारण नगद लाभांश प्राप्त गर्न नसकेका शेयरधनीको विवरण पनि कम्पनीले सार्वजनिक गरेको छ। उक्त विवरण कम्पनीको शेयर रजिस्ट्रार एनआईएमबीएस क्यापिटल र मञ्जुश्री फाइनान्सको वेबसाइटमा उपलब्ध रहेको छ।

सम्बन्धित शेयरधनीले आफ्नो निक्षेप सदस्य (डीपी) मा सम्पर्क गरी बैंक खाताको विवरणमा रहेको त्रुटि सच्याउनुपर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार पाँच वर्षसम्म पनि दाबी नगरिएको लाभांश रकम नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको लगानीकर्ता संरक्षण कोषको सचिवालयमा जम्मा गरिनेछ।

त्यसैले सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र बैंक खाता तथा डिम्याट खाताको विवरण अद्यावधिक गरी लामो समयदेखि लिन बाँकी रहेको नगद लाभांश बुझिलिन कम्पनीले शेयरधनीलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *