क्रिप्टोकरेन्सी : न सिक्का न नोट,नेपालमा के छ कानुनी मान्यता ?

राजस्व अनुसन्धान विभागले गैरकानुनी रूपमा डलर विनिमय तथा क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार गरेको अभियोगमा मोरङका दुई जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । आरोपित दुवैजना अमेरिकी डलर सटही तथा क्रिप्टोमा लगानीकर्ताका रूपमा रहेको विभागले जनाएको छ । विभागले पौने दश करोड रुपैयाँ बिगो र तीन वर्षसम्मको सजाय मागदाबी गरेको छ । उसका अनुसार नेपालमा क्रिप्टोकरेन्सीसम्बन्धी कारोबारलाई लिएर दायर गरिएको यो दोस्रो मुद्दा हो ।

नेपालमा अवैध कारोबार
विभागका महानिर्देशक प्रकाश पौडेल भन्छन्, “यसअघि हामीले धेरै रकम भएको क्रिप्टोकरेन्सीसम्बन्धी मुद्दा दायर गरिसकेका छौँ । त्यसमा हामीले ३७ करोड रुपैयाँ बिगोदाबी गरेका थियौ ।” मोरङका एक पुरुष र एक महिलासहित दुई जनाविरुद्ध विभागले काठमाडौँ जिल्ला अदालतमा सोमवार मुद्दा दायर गरेको थियो ।

उनीहरूले मोरङको रतुवामाई नगरपालिकाबाट अनलाइनमार्फत् डलरको अवैध कारोबार गरेको विभागले जनाएको छ । विभागका सूचना अधिकारी कृष्णप्रसाद पाण्डेका अनुसार कानुनले प्रतिबन्धित गरेको विदेशी मुद्रासम्बन्धी काम भइरहेको पछिल्लो घटनाले पुष्टि गरेको बताए ।
उनले भने, “यसले नेपालमा भएको वैदेशिक मुद्रा पनि बाहिरिने र बाहिर भएको विदेशी मुद्रा पनि नेपालमा नआउनेतर्फ इङ्गित गर्छ ।”

कारोबार नगर्न सूचना

नेपालले क्रिप्टोकरेन्सीको कारोबारलाई वैधता दिएको छैन । हालै नेपाल राष्ट्र बैङ्कले क्रिप्टोकरेन्सी कारोबारसम्बन्धी कुनै गतिविधिमा संलग्न नहुन सूचना जारी गरेको थियो ।

अधिकारीहरूले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गत क्रिप्टोकरेन्सीसम्बन्धी कारोबारको यो मुद्दा दायर गरिएको जनाएका छन् । विभागका सूचना अधिकारी पाण्डे भन्छन्, “नेपालमा विदेशी विनिमयसम्बन्धी कुनै पनि काम गर्दा राष्ट्र बैङ्कको स्वीकृतिबिना गर्न पाइँदैन। तर पछिल्लो घटनाले त्यस्तो स्वीकृति नलिइकनै क्रिप्टोको माध्यमबाट कारोबार गरेको देखिएको छ ।”

उनले कतिपय व्यक्ति जानकारी नभएका कारणले पनि यस्ता कारोबारमा संलग्न हुन आकर्षित भएको हुनसक्ने भन्दै कानुनको बर्खिलाप हुने गतिविधि कसैले गर्न नहुने बताए । कतिपय देशहरूमा क्रिप्टोकरेन्सीको कारोबारलाई मान्यता दिएको पाइन्छ । राजस्व अनुसन्धान विभागका अधिकारीहरू नेपालमा पनि त्यस्तै व्यवस्था लागु गर्न चाहे कानुन नै परिमार्जन गरिनुपर्ने बताउँछन् ।

केही समय पहिले राष्ट्र ब्याङ्कका प्रवक्ता गुणाकर भट्टले नेपालमा हाल भइरहेको क्रिप्टोकरेन्सीको कारोबार “प्रलोभनकेन्द्रित“ रहेको बताएको थिए ।

“नेपालमा केही मानिसले सर्वसाधारणलाई प्रलोभनमा पारेर प्रतिबन्धित क्रिप्टोकरेन्सीमा लगानी गर्न लगाएको देखियो । यस्ता गतिविधिले आममानिसको बचतदेखि लगानी प्रभावित हुने र विदेशबाट आइरहेको रेमिट्यान्समा समेत भोलि नभित्रिने सम्भावना देखिएपछि सचेत गराएका हौँ ।”

कानुनमा कस्तो व्यवस्था छ ?
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले विदेशी विनिमय कारोबार गर्न चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले नेपाल राष्ट्र बैङ्कबाट इज्जाजतपत्र लिनुपर्ने उल्लेख छ । इजाजतप्राप्त व्यक्तिले बैङ्कको आदेश पालना नगरे उसलाई नसिहत दिन, कारोबारमा प्रतिबन्ध लगाउन, धरौटी वा जमानत जफत गर्न र इज्जाजतपत्र रद्द गर्न सकिने व्यवस्था कानुनमा छ ।

उक्त ऐनसँग जोडिएका कसुरसँग सम्बन्धित विदेशी विनियमलाई जफत गर्ने साथै बिगो बमोजिमको जरिवाना गर्ने र त्यसमा तीन गुणासम्म जरिवाना गराउन सकिने कानुनमा उल्लेख छ । प्रक्रिया नपु¥याईकन मालसामान पैठारी र निकासी गर्नेहरूलाई पनि कारबाहीको व्यवस्था गरिएको छ ।

त्यसबाहेक विदेशी विनिमयसँग सम्बन्धित कसुरको बिगो रकम एक करोड रुपैयाँ वा सो भन्दा बढी भए त्यस्ता व्यक्तिलाई अन्य सजायका अतिरिक्त तीन वर्षसम्म जेल सजाय गर्न सकिने व्यवस्था कानुनमा छ ।

के हो क्रिप्टोकरेन्सी ?
क्रिप्टोकरेन्सी भनेको भर्चूअल मुद्रा हो । यसको अस्तित्व अनलाइनमा सीमित रहन्छ । भौतिक रूपमा देख्न वा छुन नसके पनि यसको मूल्य तोकिएको हुन्छ ।

यस भर्चूअल मुद्राको कुनै केन्द्रीय ब्याङ्क हुँदैन । अर्थात् यसलाई नियमन गर्ने कुनै केन्द्रीय निकाय हुँदैन । संसारभरिका कम्प्युटरहरूमा रहेको राखिएको डिजिटल रेकर्डका आधारमा यो सञ्चालन हुन्छ ।

क्रिप्टोकरेन्सीको प्रयोग गरेर सरसामान किन्न वा भुक्तानी गर्न सकिन्छ । यसलाई कम्प्युटर वा मोबाइल फोनमार्फत् डिजिटल वालेटमा राख्न सकिन्छ ।

सबै क्रिप्टोकरेन्सी “ब्लकचेन“ भनिने प्रविधिमा आधारित हुन्छन् । सन् २००९ देखि चर्चामा आएको बिटकोइन पहिलो क्रिप्टोकरेन्सी हो ।

बिटकोइनको संस्थापन श्रेय सातोशी नाकामोतोलाई दिइएको छ । रोचक कुरा त के छ भने सातोशी नाकामोतो को हुन् भनेर आजसम्म कसैलाई थाहा छैन ।

अहिलेसम्म हजारौँको सङ्ख्यामा क्रिप्टोकरेन्सीहरू अस्तित्वमा आएका छन् र नयाँ क्रिप्टोकरेन्सी थपिने क्रम जारी छ । नेपालमा पनि केहीले क्रिप्टोकरेन्सी पूर्ण रूपमा निषेध गरिनु ठिक नभएको बताउँदै आएका छन् । केन्द्रीय ब्याङ्कले डिजिटल मुद्राको सम्भाव्यताको विषयमा अध्ययन गरिरहेको बताउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *