आज नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा घटाएको छ। राष्ट्र बैंकको विदेशी विनिमय ब्यबस्थापन विभागले आज निर्देशन जारी गर्दै सुन आयातको कोटा झरेको हो ।
दैनिक १० किलोग्राम सुन मात्र आयात गर्न सकिने छ। दैनिक २० किलोग्राम सुन आयात गर्न सकिने ब्यबस्था रहेको थियो ।
विदेशी विनिमय संचिति घट्दो क्रममा रहेको र विदेशी विनिमय संचितिको ठूलो हिस्सा सुन आयातमा प्रयोग हुन थालेपछि राष्ट्र बैंकले सुन आयातमा कडाई गरेको हो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै छ ।
नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ लाख रुपैयाँ नाघेको छ । शुक्रबार तोलाको ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ पुगेको छ । आज तेजाबी सुनको भाउ पनि तोलामा २ हजार रुपैयाँले नै बढेर प्रतितोला १ लाख १ हजार ४ सयमा कारोबार भएको छ ।
आज नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाला सुनको भाउ ८७ हजार ३६५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८६ हजार ९३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १२ सय १३ रुपैयाँ रहेको छ ।