काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा आइतबार सिंगापुरविरुद्ध ८ विकेटको सहज जित निकाल्दै उपाधि दाबेदार नेपालले राम्रो सुरुवात गरेको हो ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला फिल्डिङ गरेको नेपालाई सिंगापुरले १४५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले १६ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो ।
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात गरे । टी–२० आईमा सातौं अर्धशतक प्रहार गरेका भुर्तेल ७४ रन बनाए । उनले ४८ बलमा ८ चौका र दुई छक्काको मद्दतमा उक्त योगफल बनाएका हुन् ।
अर्का ओपनर आसिफले २७ बनाए । २६ बलमा २ चौका र एक छक्काको मद्दतमा २७ रन बनाएर उनी आउट भए । नेपालका कप्तानसमेत रहेका रोहित पौडेल ३५ रनमा अविजित रहे । उनले २४ बलमा दुई चौका र दुई छक्को मद्दतमा ३५ रन बनाएका हुन् । कुशल मल्लले अविजित एक बलमा एक छक्का प्रहार गरे ।
सिंगापुरका लागि अनन्थ कृष्ण र अक्ष पुरीले एक/एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले पुरै ओभरमा ९ विकेटको क्षतिमा १४६ रनको लक्ष्य दिएको छ । सिंगापुरका लागि रोहन रंगराजनले सर्वाधिक ४६ रन बनाए ।
यस्तै आर्यवीर चौधरीले ३७, मनप्रीत सिंहले २४, अक्ष पुरीले अविजित १३ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुरेनद्रन चन्द्रमोहनले ६, जनक प्रकाश सात तथा थिलिप थिलाप्पन एक र रमेश कलिमुथुले अविजित एक रन बनाए । सिंगापुरका कप्तान अरित्र दुत्त, अमर्त्य कउल, र अनन्थ कृष्ण शुन्य रनमै पेवेलियन फर्किए ।
नेपालका अभिनाश बोहराले तीन विकेट लिए । सन्दीप लामिछाने, करण केसी र गुलसन झाले दुई/दुई विकेट हात पारे ।