काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले उनलाई बयानका लागि बोलाउने तयारी गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा संकास्पद शेयर देखिएपछि विवादमा तानिएका गुरुङमाथि अनुसन्धान गर्न गठित छानविन समितिले उनलाई केहि दिनमै बयानमा बोलाउन लागेको हो । विवादमा तानिएपछि उनले राजिनामा दिएका थिए।
उक्त कम्पनीको सेयर खरिदका लागि प्रयोग भएको रकमको स्रोतबारे प्रश्न उठेपछि गुरुङले सापटी लिएर लगानी गरेको दाबी गरेका छन् । भट्टको कम्पनीमा उनले ५० लाख रुपैयाँ बराबरको सेयर रहेको तथ्य खुलेको छ ।
उक्त विषयमा छानबिन गर्न मन्त्रिपरिषद्ले वैशाख २८ गते पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारी को नेतृत्वमा समिति गठन गरेको थियो । समितिले गुरुङलाई बयानका लागि जुनसुकै बेला बोलाउन सकिने जानकारी गराइसकेको जनाएको छ । समितिका एक सदस्यका अनुसार बुधबार वा बिहीबारसम्ममा बयान लिने तयारी छ ।
समितिका अध्यक्ष भण्डारीले प्रमाण सङ्कलनको काम जारी रहेको बताएका छन् । उनका अनुसार बैंक, स्टक एक्सचेन्ज तथा सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा छानबिन भइरहेको छ । प्रमाण सङ्कलन पूरा भएपछि बयान लिएर प्रतिवेदन तयार गरिने उनले बताएका छन् ।
समितिले छानबिन थालेको १० दिन पूरा भइसकेको छ भने मन्त्रिपरिषद्ले १५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिएको छ । समितिमा महालेखा नियन्त्रक शोभकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणी नेउपाने सदस्य रहेका छन् ।
शेयर खरिद प्रक्रिया संकास्पद देखिएको भन्दै चौतर्फी आलोचना भएपछि गुरुङले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।






