मुस्लिम समुदायका अगुवाहरुले मनाए बडादशैँ

बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले आफ्ना मान्यजनबाट दशैँको टीका र जमरा लगाए । उनले दशैँ, तिहार, रक्षाबन्धन, होली जस्ता चाडपर्व सधैंँ यसरी नै मिलेर मनाउने गरेको बताए । “हामी सद्भावको सहरमा छौँ । यो सहर आफैँमा एउटा धार्मिक परम्पराअनुसार मिलेको सहर हो । यहाँ मुस्लिमले हिन्दूहरुको मात्र नभइ हिन्दू समुदायले पनि हाम्रा चाडपर्वलाई यसैगरी हर्षोल्लासका साथ मनाउने गर्नुहुन्छ” उनले भने, “मेरो अन्य समुदायको धर्म र आस्थाप्रति मनैदेखि नै सम्मान छ । टीका थाप्दा मैले मान्ने हिन्दू समुदायका मान्यजनलाई खुसी मिल्छ र उहाँहरु खुसी हुँदा मलाई पनि खुसी मिल्छ भने त्यो खुसीमा किन सहभागी नहुने ?”

मुस्लिम अगुवा मन्सुरीले मुस्लिमका चाडपर्व ईद, बकरईद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दू समुदायका मान्यजनलाई बोलाएर उनीहरुसँग रमाउने गरेको बताए । बाँकेमा हिन्दू र मुस्लिम समुदायले वर्षौँदेखि एकआपसमा मिलेर दुबै समुदायका चाडपर्व मनाउँदै आएको उनको भनाइ छ ।

सोही प्रकारले बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले पनि दसैँमा हिन्दू समुदायका आफन्त र मान्यजनबाट टीका ग्रहण गरेका छन्। उनले आफूले टीका र जमरा ग्रहण गरेपश्चात आफूभन्दा सानालाई टीका लगाएर आशीर्वाद दिएका छन् । सिद्धिकी वर्षौँदेखि हिन्दू समुदायले मनाउने सबै प्रकारका चाडपर्वलाई मान्दै र रमाउँदै आइरहेका छन् ।

पर्वका बेला एकअर्कासँग मिलेर खुसी साट्ने गरेको उनको भनाइ छ । हिन्दूले मुस्लिमको चाडमा सहभागी हुने र मुस्लिमले हिन्दूको चाडपर्वमा सहभागी हुने यहाँको परम्परा बनिसकेको अगुवा सिद्धिकीले बताए

अर्का मुस्लिम अगुवा रहमान मियाँले पनि मान्यजनबाट दसैंँमा टीका र जमरा लगाएर आशीर्वाद लिएका छन् । रहमान मियाँले दुबै समुदायबीच अभूतपूर्व एकता र सद्भाव रहेको भन्दै उक्त सद्भावलाई बिथोल्ने प्रयासमा लागे कहिल्यै पनि सफल नहुने बताए ।

बडादशैँका दिन मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्थ चन्द्रनाथ योगीलाई भेटेर दशैँको शुभकामना दिएका छन् । एकताका र सद्भावका लागि दुबै समुदायका धर्म गुरुले संयुक्तरुपमा सबै एकआपसमा मिलेर बस्न आग्रहसमेत गरेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *