सेयर बजारमा ‘इन्ट्राडे’ र ‘सर्ट सेलिङ’ ल्याउँदै सेबोन, अवधारणापत्रमा के छ?

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको सेयर बजारलाई आधुनिकीकरण गर्ने उद्देश्यले इन्ट्राडे कारोबार, धितोपत्र सापटी तथा उधारो (एसएलबी) र कभर्ड सर्ट सेलिङ सम्बन्धी अवधारणापत्र तयार पारेको छ।

बोर्डले हाल नगद कारोबारमा मात्र सीमित रहेको बजारमा यी नयाँ उपकरणहरू चरणबद्ध रूपमा लागू गर्ने तयारी गरेको हो।

बोर्डका अनुसार लगानीकर्ताले आफूसँग नभएको शेयर बेच्न पाउने सर्ट सेलिङ सुविधाअन्तर्गत शेयर हातमा नभई बेच्न पाइने नेकेड सर्ट सेलिङलाई भने पूर्ण रूपमा निषेध गर्ने जनाएको छ।

सेबोनले यी उपकरणहरूलाई सुरक्षित र व्यवस्थित रूपमा लागू गर्न स्पष्ट मार्गचित्र तय गर्दै तीनवटा चरण प्रस्ताव गरेको छ।

पहिलो चरणमा हाल सञ्चालनमै रहेर पनि प्रभावकारी हुन नसकेको मार्जिन कारोबारलाई मात्र व्यवस्थित रूपमा सञ्चालन गरिनेछ।

दोस्रो चरणमा आवश्यक कानुन, सूचना प्रविधि तथा राफसाफ पूर्वाधार तयार गरी धितोपत्र सापटी तथा उधारो प्रणाली सञ्चालनमा ल्याइनेछ। त्यसपछि मात्र पर्याप्त तरलता भएका निश्चित शेयरमा कभर्ड सर्ट सेलिङ लागू गरिनेछ।

यी व्यवस्था कार्यान्वयनका लागि सेबोन, नेप्से, सिडिएससी, बैंक तथा धितोपत्र दलाल व्यवसायी सम्मिलित संयुक्त समिति गठन गरिनेछ। प्रत्येक चरणको समीक्षा गरेपछि मात्र अर्को चरण अघि बढाइने नीति लिइएको छ।

नयाँ प्रणालीअन्तर्गत मार्जिन कारोबारलाई प्रविधिमैत्री बनाइनेछ। स्वचालित मार्जिन गणना, दैनिक बजार मूल्यका आधारमा जोखिम मूल्याङ्कन र मार्जिन नपुगेमा प्रणालीमार्फत जानकारी दिने व्यवस्था गरिनेछ।

सर्ट सेलिङअघि अनिवार्य रूपमा शेयर सापटी लिनुपर्नेछ। धितोपत्र सापटी तथा उधारो प्रणाली सिडिएससीको प्लेटफर्ममार्फत सञ्चालन गरिनेछ भने शेयर सापटीको विवरण पुष्टि भएपछि मात्र बिक्री आदेश नेप्सेमा पठाइने व्यवस्था गरिनेछ।

सेबोनले बजारमा कृत्रिम मूल्य परिवर्तन तथा म्यानिपुलेसन रोक्न रियल टाइम अनुगमन गर्ने जनाएको छ। साथै, समयमै राफसाफ गर्न नसक्ने सर्ट सेलरमाथि जरिवाना लगाउने व्यवस्था गरिनेछ।

बोर्डले आगामी १–२ वर्षभित्र आवश्यक नियम र डिजिटल प्रणाली विकास, ३–५ वर्षभित्र बजार पूर्वाधार सुधार तथा ५–१० वर्षभित्र डेरिभेटिभ्स बजार र अन्तर्राष्ट्रिय स्तरको पूँजी बजार निर्माण गर्ने लक्ष्य राखेको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *