काठमाडौं । कुनै पनि मन्त्रालयमा मन्त्री हेरफेर भएपछि कर्मचारी सरुवा बढुवा खासै नौलो बिषय होइन। तर सचिव मात्र परिवर्तन हुदा उच्च पदस्थ कर्मचारीकै सरुवा गरियो भन्दा भने अचम्म पक्कै लाग्छ। त्यसो त कुनै मन्त्रालय सम्हालेको मन्त्रीले काम गर्न सहजताका लागि आफू अनुकूलका कर्मचारीको सरुवा गरेको बिषय पनि खासै नौलो होइन । तर राजनीतिक आड र सचिवालय निकटतम भएकै भरमा कर्मचारीले नै आफ्नो स्वार्थसिद्धीका लागि अन्य कर्मचारीको मनपरी सरुवा गरेको पाइएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पहुचवाला र राजनीतिक दम्भका आडमा कर्मचारीद्वारा कर्मचारीमाथि नै मनपरीतन्त्र लादिएको छ। उक्त मन्त्रालयमा उच्च पदस्थ कर्मचारीले आफैँ सरहका र तल्ला तहका कर्मचारीमाथि समेत अहिले सरुवा आतंक मच्चाएका छन् । उद्योग सचिव मुकुन्द निरौला नेतृत्वको टिमले सहसचिव, उपसचिव तहका देखि अन्य कर्मचारीहरुमाथि सरुवा आतंक मच्चाएका हुन् । सचिव निरौला र सहसचिवहरू लिलाप्रसाद शर्मा, मात्रिका आचार्य र दिपेश लेखकको मिलेमतोमा कर्मचारीहरुको मनपरी ढंगले सरुवा गरिएको स्रोतले जानकारी दिएको छ । उप-सचिव शर्मा गृहको कारागारमा जम्मा २ बर्ष मात्र काम गरेका कर्मचारी हुन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तत्कालीन सचिव मधु मरासिनीको चाईना भ्रमणका मौका छोपेर मन्त्रालयमा कर्मचारीको मनपरी सरुवा गरिएको हो । त्यसो त मन्त्रीलाई नै अप्ठ्यारो पार्ने देखिएपछि सचिव मरासिनीमाथि मुद्दा दायर भएको हुनसक्ने एक उच्च पदस्थ कर्मचारीको दावी छ। किनकि उनी इमान्दार र कर्मठ कर्मचारीको पक्षमा मन्त्रीकै बिरुद्दमा थिए।
स्रोतका अनुसार सहसचिव गोबिन्द कार्कीलाई बहुपक्षिय व्यापार तथा व्यापार सहायता महाशाखा (WTO ) बाट फालेर मन्त्रालयको योजना महाशाखामा पुर्याईएको छ । उनको ठाउमा उनै लिला प्रसाद शर्मा पुगेका छन् भने उप सचिवमा चक्र आचार्य गएका छन्। किनकी उक्त महासखा आकर्षक र महत्वपूर्ण साखा हो। जसले कर्मचारीको क्षमता विकासका लागि देश तथा विदेशमा समेत तालिम दिने, व्यापार सम्बन्धी अन्य थुप्रै कार्यक्रम गर्ने गर्दछ।
त्यस्तै उप – सचिव उर्मिला केसीलाईखानी विभागमा सारिएको छ भने सिर्जना तिवारीलाइ बिभागमा तानिएको छ। मुकुन्द शर्माको कम्पनी रजिष्ट्रारको कार्यालय देवचुलीमा सरुवा गरिएको छ। होमनाथ भट्टराईलाई वाणिज्य विभागबाट आपूर्तिमा तानिएको छ । कम्पनी रजिष्ट्रारबाट शेखरलाई व्यापार सहजीकरण शाखामा सरुवा गरिएको छ । उनी त झन् एक वर्षपछि यसै पनि रिटायर्ड हुँदै थिए । यसैगरी सरुवा भएर आएको तीन महिनामै घनश्याम न्यौपानेलाई पनि मन्त्रालयबाट सरुवा गरिएको छ । स्रोतका अनुसार सरुवा भएर आएको १५ दिन, तीन महिना भएका कर्मचारीहरुको पनि सचिव निरौला र तीन उपसचिवहरुको मिलेमतोमा सरुवा गरिएको हो । मन्त्रालयमा आन्तरिक हेरफेर समेत गरिएको छ । मन्त्रालयका अन्य थुप्रै सहसचिव,उप-सचिव तहका कर्मचारीलाई अन्यत्र सारिएको छ।
त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी उपसचिव गीता घिमिरे पावर र पहुँचका भरमा आफूले राजेको ठाउँमा ट्रेडमा सरुवा भएकी छन् । स्रोतका अनुसार उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट ट्रेड चाहियो भन्दै सिधै उद्योग मन्त्रालय पुगेकी हुन् ।
सचिवालयका कर्मचारीको स्वार्थमा आफूहरुको मनपरी ढंगबाट सरुवा गरेपछि इमान्दार कर्मचारी भने निराश भएका छन् । उद्योगकै एक कर्मचारी भन्छन्– काम सुरु मात्रै गरिएको हुन्छ । तर कति बेला सरुवा पत्र आउने हो टुंगो हुँदैन । यसो हुँदा हामीले सुरु गरेको धेरै महत्वपूर्ण काम पनि कहीँ टुंगोमा पुग्दैन । यसले गर्दा मन्त्रालयका इमान्दार कर्मचारीहरु सबै अहिले निराश छन् ।’ भर्खरै सरुवा भएर आएका एक कर्मचारीले भने, -‘यस्तो गाईजात्रा त मेरो जागिरभरीको कार्यकालमा पहिलो पटक देख्दैछु, स्वार्थ कसको र किन हो थाह छ तर बोल्न मिल्दैन ‘
अहिले सरुवामा हालीमुहाली गर्ने सचिव, सहसचिव र उपसचिवहरू भने कुनै न कुनै बहानामा विदेश भ्रमणमै व्यस्त हुने गरेको स्रोत बताउँछ । स्रोतका अनुसार जेनेभा भ्रमणमा रहेका सहसचिव मात्रिका आचार्य मंगलबार मात्रै (३० असोज)मा आइपुग्ने कार्यक्रम छ । यस लगत्तै विदेश भ्रमणमा जाने पालो सहसचिव दिपेश लेखको रहेको छ । अन्य कर्मचारी को त चान्सनै हुन्न स्रोत भन्छ।
मनपरी सरुवामा मन्त्री मुकदर्शक
मन्त्रालयमा कर्मचारीहरुले मच्चाएको सरुवा आतंकबारे मन्त्री भने मुकदर्शक जस्तै छन् । सचिवालयका कर्मचारीले मनपरी ढंगले अन्य कर्मचारीलाई आफ्नो स्वार्थअनुकूल सरुवा गर्दा पनि उद्योग तथा वाणिज्यमन्त्री रमेश रिजाल भने बेखबर जस्तै बनेका हुन् । स्रोतका अनुसार अन्यायमा परेको भन्दै गुहार्न पुगेका कर्मचारीहरुलाई मन्त्री रिजालले भने, ‘यस्तो किन भयो मलाई पनि खासै जानकारी छैन । शक्तिशाली कर्मचारीका अघि मन्त्री रिजाल नै निरिह र मुकदर्शक बनेको कर्मचारीहरुको बुझाईछ ।
उद्योगम तथा वाणिज्यमा मात्र होइन, पहुँचवाला कर्मचारीको रजाइँ अन्य मन्त्रालयमा पनि छ । अन्य निरिह कर्मचारी मनपनरी ढंगले सरुवा गरिएको ठाउँमा जान बाध्य छन् भने केही भने पहुँचकै भरमा आफूले राजेकै ठाउँमा/कार्यालयमा बर्षौदेखि बसिरहेका पनि छन् ।

उद्योग तथा वाणिज्यमन्त्री रमेश रिजाल




