चाडबाडमा चिनीको कृत्रिम अभाव : व्यापारी भन्छन्, ‘ग्राहकलाई रित्तो हात फर्काउनुको विकल्प छैन’

काठमाडौं । ‘साहुजी चिनी छ ?’

‘छैन नि ! हप्ता १० दिन भयो चिनी नै आएको छैन ।’ अचेल ग्राहक र व्यापारीबीच दैनिक हुने संवाद हो यो । प्रत्येक किराना पसल चाहार्दा पनि चिनी पाउन सक्ने अवस्था छैन । व्यापारीहरु ग्राहकलाई ‘चिनी छैन’ भन्ने जवाफ दिँदा दिँदै थाकेका छन् ।

बरु ढुंगा खोज्दा देउता भेटिएला तर चिनी खोज्न हिँडेका ग्राहकले चिनी पाउने अवस्था छैन ।

काठमाडौंको गैह्रीधारास्थित किराना पसल सञ्चालन गर्दै आएका रोहन कार्की २ सातादेखि आफुले चिनी बिक्री गर्न नपाएको बताउँछन् । उनी भन्छन्, ‘होलसेलमा चिनी नै छैन भन्छन् । यसअघि १५० रुपैयाँ प्रतिकेजीसम्ममा चिनी बिक्री गरियो । स्टक सकियो । अहिले ग्राहकलाई चिनी दिनै पाएका छैनौँ ।’ चिनी खोज्न आउने ग्राहकको संख्या बाक्लो रहेको उनले बताए ।

कार्की मात्र होइन नयाँबानेश्वरमा किराना पसल सञ्चालन गर्दै आइरहेका रामबच्चन चौधरीले पनि चिनी किन्न आएका ग्राहकको हात रित्तो पठाएको एक हप्ता बढी भइसक्यो । उनी भन्छन्, ‘चिनी सोध्न दैनिक ७०/८० जना ग्राहक आइपुग्छन् । छैन भनेर पठाउनु परेको छ । ३ बोरा चिनी स्टक थियो । त्यो पनि हप्ता १० दिन अगाडी नै सकियो । अहिले बेच्न पाएका छैनौँ ।’

काठमाडौंको डिल्लीबजारमा किराना सञ्चालन गर्दै आएका अशोक सुवेदीको पसलमा पनि चिनी सकिएको एक हप्ता भयो । होलसेल चाहार्दा पनि उनले चिनी ल्याउन सकेका छैनन् । उनी भन्छन्, ‘होलसेलमै चिनी छैन भन्छन् । मेरो पसलमा चिनी सकिएको करिब एक हप्ता भयो । ग्राहकलाई खाली हात पठाउनुको विकल्प छैन ।’

ललितपुरको फुलचोकीमा किराना पसल सञ्चालन गर्दै आइरहेका कृष्ण बेलबासे चिनी नबेचेको २०/२५ दिन भइसकेको बताउँछन् । १५ वर्षदेखि व्यवसाय गर्दै आएका उनले यस्तो हाहाकार पहिलोपटक महसुस गरेका छन् । स्टक सकिन लागेपछि दशैँ तिहारका लागि सामान ल्याउने सोचेका उनले अहिले चिनी बेच्न पाएका छैनन् ।

नेपालीको भान्सा चिनीबिना खल्लो हुन्छ । बिहानीको सुरुवात नै चियाको चुस्कीबाट सुरु गर्ने अधिकांशको आदत हुन्छ । त्यसैमा पनि चाडपर्वमा अन्य समयभन्दा बढी नै चिनीको खपत हुन्छ । चाडपर्वकै बेला चिनीको हाहाकार मच्चिएपछि उपभोक्तामा निराशा छाएको छ । महँगो पैसा तिरेरै लान्छु भन्दा पनि बजारमा चिनी छैन । एक महिना अघिसम्म सहजै पाइएको चिनी चाडपर्व लागेसँगै एकाएक अभाव सिर्जना हुनुले बजारमा कालोबजारी हाबी भएको सजिलै अनुमान लगाउन सकिन्छ ।

चाडपर्वको बेला अत्यधिक माग हुने चिनी दशैँ, तिहार र छठ नजिकिँदा अभाव भएको छ । विशेषगरी नेपाली उत्पादनले मात्रै चिनीको माग धान्दैन । त्यसो हुँदा व्यापारीले मौका छोपेर कालोबजारी गरिरहेका छन् । सरकारी गोदाममा चिनीको मौज्दात कम रहेको थाहा पाएका व्यापारीहरु चिनी लुकाएर कृत्रिम अभाव सिर्जना गरिरहेका छन् ।

सरकारले मुख्य चाडपर्वलाई लक्षित गर्दै  चिनी आयातमा ५० प्रतिशत भन्सार छुटसहित २० हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय पनि गरेको थियो । जसअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले १०/१० मेट्रिक टन चिनी भन्सार छुटसहित आयात गर्न पाउँथे । चिनीमा ३० प्रतिशत भन्सार महसुल लाग्दै आएकोमा १५ प्रतिशत मात्र भन्सार शुल्क तिरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई चिनी आयातमा सहजीकरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बाटो खुला पनि गरिदियो । तर प्रक्रिया लम्बिएपछि समयमै चिनी आयात गर्न नसक्दा मुख्य चाडपर्वमा चिनीको हाहाकार भएको हो । लामो समयदेखि बजारमा चिनीको कृत्रिम अभाव सिर्जना हुँदा पनि सरकारले भने अनुगमलाई प्रभावकारी बनाउन सकेको छैन ।

क्षमता छ तर उत्पादन छैन

नेपालमै वार्षिक ४ लाख टन चिनी उत्पादन गर्न सक्ने क्षमता छ । तर उखु नहुँदा उद्योगहरुले क्षमताअनुसार उत्पादन गर्न सकिरहेका छैनन् । नेपालमा १० वटा उखु मिल सञ्चालनमा छन् । हाल देशभर सञ्चालनमा रहेका उद्योगहरुले वार्षिक ४ लाख मेट्रिक टन चिनी उत्पादन क्षमता राख्दछ । तर अधिकांश उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन भएका छैनन् ।

गत वर्ष एक लाख ८० हजार मेट्रिक टन मात्र चिनी उत्पादन भएको चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल बताउँछन् । नेपालको वार्षिक चिनी खपत २ लाख ८० हजार देखि ३ लाख मेट्रिक टन रहेको छ । ४०/५० हजार टन चिनी खुला बोर्डरबाट तस्करी भएर आउने अग्रवाल बताउँछन् । सरकारले ५० हजार मेट्रिक टक चिनी मात्र आयात गरेको भए पनि हाहाकारको अवस्था नआउने उनले बताए ।

मल र सिँचाईको अभावले गर्दा उखु उत्पादन घटिरहेको कारण पनि चिनी उत्पादनमा ह्रास आएको अग्रवाल बताउँछन् । उनी भन्छन्, अहिले कृषिजन्य उत्पादन घटिरहेको छ । उखु उत्पादनमा पनि ह्रास आइरहेको छ । युवाहरुको विदेशिने क्रम पनि उतिकै छ । समयमा मल आउँदैन सिँचाईको समस्या छ । विविध कारण उत्पादनमा ह्रास आइरहेको छ । त्यसैको प्रभाव चिनी उद्योगमा पनि पर्न गएको हो ।’

चिनी उद्योग संघले साउन ११ गते नै चिनी अपुग हुन्छ ५० हजार मेट्रिक टन चिनी राज्यले मगाउनुपर्छ भनेर सरकारलाई पत्र पठाए पनि वेवास्ता गरेको उनले गुनासो गरे । ‘अहिले त्यसैको परिणाम बजारमा देखिँदैछ ।’ उनले भने ।

यता साल्ट ट्रेडिङले भने प्रतिउपभोक्ता २ केजीका दरले चिनी वितरण गरिरहेको छ । साल्ट ट्रेडिङसँग साढे चार सय मेट्रिक टन चिनी मौज्दात रहेको प्रवक्ता कुमार राज भण्डारीले जानकारी दिए । साल्ट ट्रेडिङले चाडपर्व लक्षित सहुलियत पसलहरुबाट प्रतिकेजी ९७ रुपैयाँमा चिनी बिक्री गरिरहेको उनले बताए । नेपालमै उत्पादित चिनीले माग नधान्ने भएकोले पनि अहिले हाहाकारको स्थिति सिर्जना भएको उनको भनाइ छ ।

सरकारबाट सहुलियतमा चिनी ल्याउने प्रक्रिया भइरहेको र त्यो चिनी आएपछि अवस्था सहज बन्ने उनको विश्वास छ ।

चिनी आउने सम्भावना न्यून

सरकारले चाडबाडमा बिक्री गर्न आयातमा छुट दिए पनि छुटको चिनी आउने समयमै आउने सम्भावना न्यून छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी किन्न गत असोज १० गते मात्रै ४५ दिने ग्लोबल बोलपत्र आह्वान गरेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । यसरी हेर्दा मंसिर १ गतेसम्म चिनी ल्याउन आवेदन पेस गर्ने समय छ । जुन समयसम्म दशैँ, तिहार सकिन्छ । टेन्डरमा आयातकर्ता भारत परेको खण्ड आयात प्रक्रिया छोटिन पनि सक्छ । तेस्रो मुलुक परेको खण्डमा भने आयात प्रक्रिया नै लम्बिन जान्छ ।

सहुलियतमा उपलब्ध प्रतिव्यक्ति २  केजी चिनीले ग्राहकको आवश्यकता टर्दैन । त्यही चिनी पनि साल्ट ट्रेडिङसँग स्कट रहुन्जेल मात्र पाइन्छ । त्यसो हुँदा पनि चाडपर्वमा चिनीको अभाव खड्किने पक्का छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *