काठमाडाैं । संसारका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको ईसेवा मनि ट्रान्स्फरले “मेरो डिजिटल देश” अभियान अन्तर्गत नेपालमा यस कम्पनीमार्फत नेपालमा पैसा पठाउने एक जनालाई काठमाडाैंमा घर दिने भएकाे छ । अघिल्लाे वर्षबाट सुरु भएकाे याे याेजना याे वर्ष पनि चल्ने कम्पनीले जनाएकाे छ ।
स्क्वायर होटल पुल्चोकमा सम्पन्न प्रेस कन्फरेन्समार्फत ईसेवा मनि ट्रान्स्फरले “मेरो डिजिटल देश” अभियान अन्तर्गत फेरि पनि काठमाडौँमा घर दिने योजना सार्वजनिक गरेको हाे। यो अभियान आजबाट सुरु भएर असार ३१, २०८१ सम्म जारी रहने कम्पनीले जनाएको छ। परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटलतर्फ लैजाने अभिप्रायका साथ यो अभियान सुरु गरिएको कम्पनीले जनाएकाे छ।
“मेरो डिजिटल देश” अभियान अन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीहरुले नेपालमा इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन्। यस अभियानमा ४ परिवारलाई विशेष कोसेली, हरेक महिना १ जनाको पैसा डबल तथा बम्पर उपहारमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्नेछन्।
अभियानबारे आफ्नो धारणा व्यक्त गर्दै एफवान सफ्ट ग्रुपका डाइरेक्टर सुवास शर्माले भने, “यो योजना वैदेशिक रोजगारीमा रहेका नेपाली व्यक्तिहरूले गरेको समर्पण र बलिदानप्रति हाम्रो प्रशंसाको प्रतीक हो। प्रत्येक विदेशमा काम गर्ने नेपालीको एउटा आकांक्षा भनेको काठमाडौंमा घर बनाउनु हो र यस अभियानको माध्यमबाट हामीले कम्तिमा एउटा व्यक्तिको सपना पूरा गर्न सक्नेछौं। साथै ईसेवा मनि ट्रान्स्फर र ईसेवाको संयुक्त प्रयासले यस अभियानलाई अझै धेरै डिजिटल मध्यमलाई बढावा दिने लक्ष्य छ।”
ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । ईसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३ हजार ८०० सयभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर देशभरका दुई करोडभन्दा बढी जनसंख्या र १२ लाखभन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।






